अमेरिकामा कोरोनाको नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको ज्यान गयो

एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्यामा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन यो संक्रमणबाट ४ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार कोभिडका कारणबाट अमेरिकामा बिहीबारमात्र कम्तीमा ४ हजार जनाको ज्यान गएको बताइएको छ ।

यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडिसीले दिएको जानकारीअनुसार बिहीबार मात्र कम्तीमा ४ हजार १ सय ८० जनाको यो संक्रमणबाट निधन भएको छ । त्यस दिनमात्र यो संक्रमणका २ लाख ७९ हजार ४ सय १ जना नयाँ संक्रमित भेटिएका छन् । यो संख्या पनि अमेरिकामा धेरैपछि एकै दिन देखिएको सबैभन्दा धेरै संख्या भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकाय सिडीसीले जनाएको छ ।

सिडीसीले दिएको जानकारीअनुसार अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएपछिको यो सबैभन्दा धेरै संख्याको संक्रमण र निधन भएको हो । यहाँ शुक्रबारको तथ्यांकअनुसार यहाँका करिब १ लाख ३२ जना नागरिक त कोभिडको संक्रमणका कारण बिरामी भएर अस्पतालमा नै रहेका बताइएको छ । नयाँ वर्ष सुरु भए पछिको पहिलो हप्तामा नै अमेरिकामा २३ हजार ८३ जना कोभिड १९ को संक्रमणबाट निधन भएको छ । यसका कारण त्यहाँ पछिल्ला दिनहरुमा यो संक्रमणको त्रास थप बढेको पनि अधिकारीहरुले जनाएका छन् ।

यो हप्ता भित्रमा अमेरिकाका विभिन्न १६ वटा राज्यमा कोभिडका संक्रमित बढेका छन् र उनीहरुमध्ये केहीलाई कडा लक्षण देखिएकाले अस्पताल नै भर्ना गरिएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकामा अहिलेसम्ममा यो संक्रमणबाट २ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । त्यसैगरी यो संक्रमणजन्य जटिलताका कारण यहाँका ३ लाख ६९ हजार जनाको ज्यान गइसकेको बताइएको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार त्यहाँ शनिबारसम्मको तथ्यांकमा यो संख्या देखिएको छ । साथै पछिल्ला केही दिनहरुमा यहाँ संक्रमित हुने र निधन हुने दर पनि बढेको देखिएको छ । गत वर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमणको कारण विश्वभरी ९ करोड १० लाखभन्दा बढी संक्रमित भएका छन् । यस संक्रमणको कारण विश्वभरी १९ लाख ३५ हजारभन्दा बढीको निधन भएको छ भने ६ करोड ४४ लाख ९२ हजार ५ सय ९७ जना कोरोनामुक्त भएका छन् । रासस

कमेन्टहरु
Loading...