पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि देखेर आत्तिएको बताएका छन् । काठमाडौंमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आत्तिएर नै केही नेता जे मन लाग्यो त्यही बोल्दै हिंडिरहेको उनको भनाई थियो । आफ्नै दलका नेताहरुले काम गर्न नदिएको तथा बोल्न नदिएपछि बाध्य भएर एक्लै अगाडि बढ्नुपरेको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति रहेको छ ।
मुलुक जुन हिसाबले अगाडि बढ्नुपर्ने थियो, त्यो हिसाबमा अगाडि बढ्न नदिइएको उनले कार्यक्रममा आरोप लागएका छन् । मुलुकलाई विकास निर्माणका काममा अगाडि बढाउन निर्वाचनको घोषणा गरिएको उनले दावी गरेका छन् । प्रचण्डतर्फ इंगित गर्दै उनले पहिचानका नाममा जात–जातबीत झगडा निम्त्याएर राजनीति गर्न खोजिएको आरोप लागएका छन् । जाति तथा पहिचानका नाममा जनतालाई भड्काएर देश टुक्र्याउने मनसाय भएको उनले आरोप लागएका थिए । हामी यहाँ छौं भनेर आफ्नै भाषा नक्कल गरिएको उनले बताए । ‘मेरै भाषा चोरियो, मैले हामी यहाँ छौं किन भने भन्ने बुझ्न खोजिएन ।’ उनले हाँस्दै भने, ‘जहाँ हुनुहुन्छ, त्यही बस्नुस् ।’
प्रधानमन्त्री ओलीले कार्यक्रममा बोल्दै प्रतिनिधिसभा विघटनको विषयमा ४ जना पूर्व प्रधानमन्यायधीषहरुले जारी गरेको वक्तव्यप्रति आपत्ति प्रकट गरेका छन् । उनले अदालतलाई कुनै पनि हालतमा नधम्क्याउन सचेत गराएका थिए । स्वतन्त्र न्यायालयलाई सम्मान गर्न सिक्न उनले आग्रह गरे । ‘सम्मानित, स्वतन्त्र न्यायपालिकालाई सम्मान गर्न सिकौं ।’
मध्यावधि निर्वाचनमार्फत् जनतामाझ जाने लोकतन्त्र विरोधी नहुने उनले दावी गरेका छन् । केही दर्जन मान्छेहरुका हण्डीबाट चलेकाहरुको बिकाउ बोली भएको उनले बताए । बहुमतको प्रधानमन्त्री आफू भएको र अर्को विकल्प नभएकाले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने उनले दावी गरेका छन् । यो संसदले देशका लागि प्रभावकारी काम गर्न नसकेको उनको भनाई थियो । ‘सुकेका फलले फुल दिन्छ भनेर हरेक पटक पानी हालेर हुन्छ ?’ प्रश्न गर्दै उनले भने । निर्वाचन कुनै पनि हालतमा स्थगित नहुने उनले दावी गरेका छन् । ‘कोही पनि भ्रममा पर्न जरुरी छैन ।’ उनले भने, ‘केपी ओलीले चुनाव गराउँदैन, तानाशाही लागू गर्छ भन्ने हल्ला फिजाइँदै छ, ओली लोकतन्त्रको रक्षाका लागि हो, तानाशाहीका लागि होइन ।’ निर्वाचनको तयारी गर्न उनले सबैलाई अपील गरेका छन् ।
प्रचण्ड–नेपाल समुहले निर्वाचन आयोगमा आफूहरु आधिकारिक भएको बताउँदै पत्र पठाएको आफू थाहा पाएको बताए । उनले प्रश्न गर्दै कसरी उनीहरु आधिकारिक भए भन्ने कुरा प्रमाणित गर्न चुनौती दिए । केपी ओलीलाई निस्काष्न गरे धने धाक लगाएर प्रचण्ड–नेपाल बसिरहेको उनले बताएका छन् । ‘म उहाँहरुलाई प्रश्न गर्न चाहन्छु, उहाँहरुले मलाई कहाँबाट निस्काष्न गर्नु भयो रे, कहाँबाट ? माइती घर मण्डलाबाट ?’ उनले भने ।