अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर खाता सधैंका लागि बन्द

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैंका लागि बन्द भएको छ ।

ट्वीटर सञ्चालक कम्पनीले ‘एट द रेट रियल डोनाल्ड ट्रम्प’ नामक उनको खाता सधैंका लागि बन्द गरिदिएको घोषणा गरेको हो । उनको ट्वीटर खाताबाट हिंसा फैलिने खतरा भएकाले हटाइदिएको कम्पनीका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

ट्वीटरको भिडियो सम्बन्धी नीति विपरितको भिडियो उनले राखेकाले उजको खाता हटाउन बाध्य भएको कम्पनीको भनाई छ । अमेरिकाको संसदमा उनका समर्थकहरुले गरेको हिंसात्मक घटनासम्बन्धी भिडियो उनले ट्वीटरमा राखेपछि उनको सर्वत्र आलोचना भएको थियो । उनले हिंसा मच्चाउनेलाई देशभक्तको संज्ञा दिएपछि उनीविरुद्धको आक्रोश थप बढेको थियो ।

उनले राखेको भिडियो हटाउन सर्वत्र दवाव आएपछि ट्वीटरले सुरुमा भिडियो हटाइदिएको थियो । त्यसपछि पनि उनले ट्वीटरको दुरुपयोग गरेको भन्दै ट्वीटरले उनको खाता केही समय बन्द गरिदिएको थियो । अहिले भने सधैंका लागि बन्द गरिदिएको हो ।

राष्ट्रपति ट्रम्पले राज्यशक्तिको दुरुपयोग गरेको र लोकतन्त्रलाई खिल्ली उडाएको भन्दै आलोचना गरेका थिए । अमेरिकाका केही सांसद र व्यक्तिले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए ।

बिहीवार पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको ‘राक्षसी व्यवहार’ माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताएकी थिइन् । अमेरिकी संसद्ले राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितलाई औपचारिकता दिने प्रक्रिया अगाडि बढाइरहेका बेला ट्रम्पका सयौं समर्थकहरूले संसद भवनमा प्रवेश गरेर हिंसा मच्चाएका थिए ।

हिंसामा परी ४ जना सर्वसाधारण र १ प्रहरी अधिकारीको ज्यान गएको छ । रासस

कमेन्टहरु
Loading...