नेकपाको राष्ट्रिय एकता अभियानमा सहभागी हुन नेता गौतमको अपील

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको बताउँदै एकता राष्ट्रिय अभियानमा संगठित हुन अपील गरेका छन् । गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै एकता राष्ट्रिय अभियानमा संगठित हुन अपील गरेका हुन् । उनले विज्ञप्तिमा आफूलाई ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’ को संयोजक बताएका छन् ।

पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधिसभालाई दुरुपयोग गर्ने सम्मका घटना घट्नु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था भएको गौतमले औंल्याएका छन् । विज्ञप्तिमा नेता गौतमले एकअर्कालाई दोष दिंदै सामान्य मर्यादा उल्लंघन गरेर आफ्ना एतिहासिक योगदानलाई भुल्दै कम्युनिस्ट आन्दोलन विरोधीहरुलाई हँसाएर सुरु भएको लडाईं बन्द गर्न समेत नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली तथा प्रचण्ड–नेपाल पक्ष दुवैलाई उनले आग्रह गरेका छन् ।

‘सहिदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित सञ्चालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गरौं ।’ उनले भनेका छन् ।

औपचारिक रुपमा पार्टी विभाजित भइसक्यो नभनिएको भए पनि नेकपाको ओली तथा प्रचण्ड–नेपाल समुह बनिसकेको छ । नेता गौतमलाई दुवै पक्षले आफ्नो पक्षमा पार्न अनेकन कोसिस गरिरहेको भए पनि गौतमले भने आफू अझै एकता कै पक्षमा रहेको र पार्टी एकता जोगाउन राष्ट्रिय अभियान सुरु गर्ने बताउँदै आएका छन् । सोही क्रमलाई निरन्तरता दिंदै गौतमले आज प्रेस विज्ञप्तिमार्फत् कुनै पनि समुहलाई समर्थन नगरेर आफूले एकता तथा मेलमिलापका लागि अभियान नै सञ्चालन गरेको दावी गरेका छन् ।

‘सम्पूर्ण अवस्थालाई सुक्ष्मतमः विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुनःएकीकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म बामदेव गौतम दुवै समूहलाई समर्थन नगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकलाई हार्दिक हार्दिक अपिल गर्दै तपाईंहरुका अगाडि खडा भएको छु ।’ विज्ञप्तिमा उनले भनेका छन्, ‘यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनर्एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन् ।’

कमेन्टहरु
Loading...