पोखरा । मिलेनियम ट्रेक (सहस्राब्दी पदमार्ग) अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैंसेगौंडामा १ सय १५ प्रजातिका चरा भेटिएका छन् । तनहुँको दुलेगौंडा हुँदै स्याङ्जाको रामबाछा जोडिने सो पदमार्गमा १ सय १५ प्रजातिका चरा फेला परेको प्रकृतिका साथीहरू संस्थाको आयोजनामा हालै सम्पन्न अध्ययन अनुसन्धानका क्रममा भेटिएको हो ।
चराको अध्ययन अनुसन्धान गर्न आयोजित १९ दिने वन्यजन्तु अनुसन्धान विधि तालिममा देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने १३ जना सहभागीले प्रत्यक्षरुपमा चरा, पुतली आदिको अध्ययन एवं अवलोकन गरेका थिए । ‘तालिमका क्रममा सहभागीले जंगलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधि आदिबारे जानकारी प्राप्त गरेका छन् ।’ प्रकृतिका साथीका निर्देशक राजु आचार्यले भने, ‘सहभागीलाई चरा, पुतली एवं स्तनधारी प्राणी सम्बन्धमा जानकार विषय विज्ञबाट अध्यापन गराएको थियो ।’
कोरोना महामारीलाई दृष्टिगत गर्दै संस्थाले तालिमपूर्व सहभागीको पिसिआर परीक्षण गरेको थियो भने तालिम अवधिमा स्वास्थ्य सुरक्षा मापदण्डलाई कार्यान्वयन गरिएको थियो । संस्थाका तर्फबाट ९ वर्षदेखि तालिम आयोजना गर्दै आएको जानकारी दिँदै आचार्यले यसअघि पर्वतको चित्रे र नवलपरासीमा तालिम सम्पन्न भइसकेको बताएका छन् ।
अघिल्लो वर्ष भैंसेगौंडामा गरिएको लाटोकोसेरो महोत्सवले यस स्थानको गरिमा र महत्वलाई बढाएको बताउने मिलेनियम भैंसेगौंडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङ वन्यजन्तु अनुसन्धान तालिमले यहाँको पर्या–पर्यटनको विकासमा अझै योगदान पु¥याएको बताउँछन् । ‘भैसेगौंडा मात्र नभई समग्र सहस्राब्दी पदमार्गमा चरा पर्यटनका धेरै सम्भावना रहेको कुरा पुष्टि भइसकेको छ ।’ उनले भने, ‘चरा पर्यटनको सम्भावनालाई उजागर गर्न पोखरा पक्षी समाजसँगको सहकार्यमा चरा गणना कामलाई पनि जारी राखिएको छ ।’
पदमार्ग क्षेत्रमा गरिएको हालसम्मको अध्ययनबाट १ सय ३७ प्रजातिका चरा पाइएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । सहस्राब्दी पदमार्गमा ५२ किलोमिटर वन क्षेत्र रहेको छ । यहाँ नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर पदयात्रा मार्गका विभिन्न स्थानमा पर्याप्त संख्यामा देख्न सकिन्छ ।
पदमार्ग क्षेत्रमा संरक्षणको सूचीमा रहेको लुँइचे, मांसाहारी प्रजातिका चरा पदमार्ग क्षेत्रमा भेटिएका छन् । सुन गिद्ध, डंगर गिद्ध, सेतो गिद्धलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला, पौरी वाज, बौडाइ, कालो चिल, काकाकुल, बनवाज, मोरंगी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कण्टे सुगा, मधुवा, ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुंगेचरालगायतका प्रजातिका चरा भेटिएका छन् ।
भैंसेगौंडामा मात्रै १ सय १५ प्रजातिका चरा पाइनुले यहाँको पर्यटकीय विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । भैंसेगौंडा नजिकै रहेको राङभाङ (ओढार)लाई पनि पर्यटनसँग जोड्ने लक्ष्यका साथ स्थानीयवासी लागेका छन् । कुनै समय भूतेभ्वाङका रुपमा परिचित स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं ३ स्थित रहस्यमय भ्वाङलाई स्थानीयवासीले राङ्भाङ भन्दै आएका छन् ।
सयौं वर्ष पुरानो अनुमान गरिने भ्वाङलाई साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न स्थानीय राङ्भाङ युवा क्लबले सक्रियता देखाएको छ । क्लबका अध्यक्ष बालकुमार गुरुङका अनुसार बूढापाकाले तत्कालीन समयमा ‘त्यस ठाउँमा भूत बस्छ भन्दै’ बालबालिकालाई जान रोक्थे । भ्वाङको संरक्षण र प्रवद्र्धनमा पहल शुरुआत गरिएको उनले जानकारी दिएका छन् । केही युवाले डोरीको सहायताले भ्वाङमा प्रवेश गरी विसं २०७० मा अध्ययनको प्रयास गरेका थिए । अघिल्लो वर्ष क्लबका अध्यक्ष गुरुङसहितको टोलीले गुफामा डोरीका सहायताबाट पसेर त्यहाँको स्थलगत अवलोकनसमेत गरेको छ । गुफाभित्र वर्षौंदेखि फोहोर फालिएको पाइएको बताउँदै गुरुङले यसको सरसफाइ गरी आगामी दिनमा पर्यटकीय स्थलरुपमा उपयोग गरिने बताएका छन् ।
उनका अनुसार डोरीको सहयताले लभगभग ९० फिट गहिराइको भ्वाङमा जान सकिने हुँदा यसलाई साहसिक पर्यटनका रुपमा उपयोग गर्न सकिने देखिएको छ । ‘भ्वाङबाट ९० फिट तल झरेपछि त्यहाँ फोहरसहितको ठूलो माटाको थुप्रो रहेछ ।’ अध्यक्ष गुरुङले भने, ‘त्यहाँबाट अझै १५ फिट तल झरेपछि दायाँ एवं बायाँतर्फ २ वटा मानिस छिर्न सक्ने अरु प्वाल पनि रहेछन् ।’ बूढापाकाले त्यहाँभित्रबाट दायाँतर्फ अघि बढेको प्वाल हुँदै जंगलतर्फ र बायाँतर्फको प्वालबाट स्याङ्जाको बिरुवा निस्कन सकिने बताउँछन् । अहिले भ्वाङलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने सोचका साथ राङ्भाङ स्थायी बसोवास भई हाल हङकङमा पेसा तथा व्यवसाय गर्दै आएकाको आर्थिक सहयोगमा तारबार गरिसकिएको छ । चरा पर्यटनसँगै यहाँको साहसिक पर्यटनको सम्भावना बोकेको गुफा आदिलाई समेट्दै यहाँ आउने पर्यटकका लागि मिलेनियम भैंसेगौडा सामुदायिक होमस्टमा खान र बस्न सक्ने व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन् । रासस