धनगढीमा प्रधानमन्त्री ओली विरुद्ध टायर बालेर विरोध, सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं । आज एक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली धनगढी जाँदै छन् । प्रधानमन्त्री ओली धनगढी जाने भए पछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेकपाको प्रचण्ड–नेपाल पक्षका भएकाले पनि प्रधानमन्त्री ओलीको यात्राका क्रममा तनाव उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै त्यहाँ सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

स्रोतका अनुसार धनगढीका विभिन्न चोकहरुमा नेपाल प्रहरी सहित सशस्त्र प्रहरीलाई बाक्लोमात्रामा परिचालन गरिएको छ । त्यस्तै विमानस्थलमा समेत सुरक्षालाई ध्यान राख्दै सेना सहित तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीको विरोधमा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका विद्यार्थीले आज धनगढीमा टायर बालेका छन् ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रमका लागि निर्माण गरिएको खुलामञ्च नजिक प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताहरुले आज टायर बालेका हुन् । प्रतिनिधिसभा विघटन पश्चात पहिलोपटक राजधानी बाहिरको कार्यक्रमलाई सम्बोधन गर्न जान लागेको प्रधानमन्त्री ओलीको विरोधमा प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताहरुका अनुसार आजै विभिन्न ६ स्थानमा कालोझण्डा देखाउने कार्यक्रम रहेको छ ।

कमेन्टहरु
Loading...