
पाेखरा । विश्वका भैँसीविज्ञहरू काठमाडौंमा भेला हुने भएका छन । दसौँ एसिया क्षेत्रीय भैँसीविज्ञको महासभा दसौँ एसियन बफेलो कँग्रेस नेपालमा हुने भएपछि उनीहरू सहभागीताको लागि आउने भएका हुन । आगामी २० जेठदेखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो ।
एसियन बफेलो एसोसिएसन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो । महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकारअन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल लाइभस्टक इनोभेसन परियोजना, नेपाल पशु चिकित्सा परिषद् र अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटी छन् ।
हरेक तीन–तीन वर्षमा हुने महासभा नेपालमा भने पहिलोपटक हुन लागेको हो । एसोसिएसनका अध्यक्ष कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राडा भूमिनन्द देवकोटा छन् । जुन देशको अध्यक्ष हुन्छ, सोही देशमा महासभा गर्ने गरिन्छ ।
देवकोटाका अनुसार यसअघिको नवौँ महासभा भारतको हरियाणा राज्यको हिसारमा भएको थियो । सोही ठाउँमा एसोसिएसनको सचिवालय छ । एसोसिएसन सन् १९९२ मा स्थापना गरिएको हो ।
संसारभरिका भैँसीविज्ञको साझा संस्था इन्टरनेसनल बफेलो फेडेरेसन हो । फेडेरेसनको सचिवालय इटालीको रोममा छ । सोही फेडेरेसनअन्तर्गतको एसियाका वैज्ञानिकको संस्था एसियन बफेलो एसोसिएसन हो । महासभामा विश्वका २५ देशका ४ सयभन्दा बढी वैज्ञानिक सहभागी हुने अपेक्षा गरिएको छ । नेपालले भैँसीमा गरेको विकास महासभामा प्रस्तुत गरिने छ भने अन्तर्राष्ट्रिय साझेदारसँग रैथाने भैँसीको अध्ययन, अनुसन्धान र विकासका लागि आह्वान गरिने कार्यक्रम छ ।
विश्वमा भएका भैँसीमध्ये ९२ प्रतिशत भैँसी एसियामा पाइन्छन् । त्यसमध्ये सबैभन्दा बढी भारत,पाकिस्तान, चीनहुँदै चौथोमा नेपाल पर्दछ । त्सैगरि नेपालमा भैँसीको सङ्ख्या करिब ५२ लाखभन्दा बढी भएको तथ्याङ्क रहेकाे छ ।