पाेखरेली क्लब सहाराले एउटै प्रतियोगिताबाट कमायो १९ लाख

गन्थन डेस्क

गण्डकी प्रदेशकै उत्कृष्ट फुटबल प्रतियोगिता मानिने आहा रारा गोल्डकपले १८ औं संस्करणको प्रतियोगिताबाट १८ लाख ९७ हजार ६५७ रुपैयाँ बचत गरेको छ । २०७६ मा आयोजित प्रतियोगिताबाट उक्त रकम कमाई गरेको सहारा क्लबले जनाएको छ ।

गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिताबाट ८८ लाख १० हजार ३ सय ६६ रुपैयाँ आम्दानी हुँदा आवश्यक खर्च कटाएर उक्त रकम बचत भएको क्लबले जनाएको छ ।

उक्त प्रतियोगिता सम्पन्न गर्न ६९ लाख १२ हजार ७ सय ९ रुपैयाँ खर्च भएको क्लबले बुधबार जनाएको छ । प्रतियोगिताको प्रबेश टिकटबाट मात्र २८ लाख ७ हजार ४ सय ७० रुपैयाँ संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले बताए ।

त्यसै गरी व्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७ सय ७२, सिजनल टिकटबाट ३६ हजार, बैंक व्याज आम्दनीबाट ४२ जहार १ सय ४५ रुपैया आम्दानी भएको उनले जनाए । मुख्य प्रायोजक आहा तथा रारा तयारी चाउचाउबाट १२ लाख ५१ ह्जार, गण्डकी प्रदेश सरकारबाट १० लाख, हिमांश एजुकेशन कन्सेल्टेनसीबाट ४ लाख, राखेपबाट ३ लाख ४७ हजार ५ सय २९, गोर्खा ब्रअरीबाट ३ लाख ५० हजार, सहारा क्लव हङकङबाट २ लाख ७ हजार ४ सय ५० रुपैया लगायतका संघ संस्थाबाट सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।

त्यसै गरी प्रतियोगितामा खेलाडी दैनिक भ्रमण खर्च वापत २५ लाख ७ हजार १ सय ६८, प्रोत्साहन खर्च १६ लाख १२ हजार, प्रतियोगिता संचालन तथा व्यबस्थापन खर्च ६ लाख ८२ हजार ७ सय ५०, व्यानर कपडा एवं लेखाई खर्च २ लाख ३० हजार, खेल मैदानको लागि जिल्ला खेलकुद विकास समितिलाई ४ लाख, रेफ्रि खर्च १ लाख ९४ हजार, रेफ्रि यातयात खर्च १ लाख २८ हजार ३ सय ९५ लगायतका शीर्षकमा खर्च भएको क्लबका कोषाध्यक्ष राजु लालचनले जनाए ।

बचत भएको उक्त रकम क्लवले सहारा एकेडेमीमा रहेका वालवालिकाहरुको लागि खर्च गर्दै आएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । कोरोनाको कारणले गर्दा अझै पनि केही रकम संकलन हुन बाँकी रहेको जसले गर्दा यस बर्ष आय व्यय ढिलो सार्वजनिक गरिएको क्लवले जनाएको छ ।

नेपाल पुलिस क्लबलाई फाइनलमा पराजित गर्दै नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लवले आहा रारा गोल्ड कपको उपाधि सहित नगद १० लाख एक हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भएको थियो । प्रतियोगितामा भारतको एक टीम सहित १० टिमको सहभागिता रहेको थियो ।

 

कमेन्टहरु
Loading...