देवघाटमा माघेसक्रान्ति मेला नहुने

चितवन । पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसक्रान्ति मेला नहुने भएकोे छ । कोरोना संक्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सक्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो । माघे सक्रान्तिमा ३६ घण्टाको अवधिमा ५ लाख तीर्थालु भक्तजन मेला भर्न आउने गरेको विगतको तथ्यांक छ ।

कार्यकारी निर्देशक घिमिरेले स्नान घरमानै गरेर यस वर्ष माघेसक्रान्ति मनाउन अनुरोध गरिएको जानकारी दिएका छन् । उनले भने, ‘बेनीमा स्नान मात्र गर्न आउनेलाई भने हामी रोक्दैनांै ।’ स्वास्थ्य सतर्कता अपनाएर स्नान गर्न अनुरोध गरिएकोे उनको भनाई छ ।

देवघाटमा माघे सक्रान्तिका अवसरमा २ दिनअघि देखिनै आएर मेला भर्ने प्रचलन रहेकोे छ । छिमेकी मुलुक भारत र नेपालभरिबाट भक्तजन यहाँ आउने गर्छन् । मेला व्यवस्थापन गर्न ३ जिल्ला चितवन, तनहुुँ र नवलपरासीका सुरक्षा निकाय खटिने गर्थे । पुस मसान्तमा बेनीमा लिंगो गाडेर मेलाको शुभारम्भ गर्ने गरिन्छ । मेला नभए पनि विधि भने पूरा गरिने जनाइएको छ ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे सक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । भविष्य पुराण, विष्णुबचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घीउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ । रासस

कमेन्टहरु
Loading...