रेम बिक /पोखरा, ८ पुस /संगठनको बद्नाम गरेको आरोप लगाउँदै नेविसंघ कास्कीका तीन जना पदाधिकारीहरुलाई केन्द्रिय समितिले साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ । निष्काशन पर्नेहरुमा परशुराम बस्नेत, लक्ष्मीप्रसाद पौडेल र योगेन्द्र सुवेदी रहेका छन् । यी तीनै जना नेविसंघ कास्कीको नेतृत्व तहमा रहेर कार्यरत थिए ।
नेविसंघ केन्द्रिय समितिका सदस्य निर्मल पौडेलले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै तीन जना पदाधिकारीहरुलाई संगठनको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिएको जानकारी दिएका हुन् । निष्काशनमा परेका नेविसंघ कास्कीका पदाधिकारीहरु तीन वर्षसम्म साधारण सदस्यता लिन नपाउने प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘नेविसंघको गरिमालाई धमिल्याउने र ध्वस्त बनाउने उद्देश्यसहित उनीहरुले गैर राजनीतिक कार्य गरेका छन् ।’ प्रेश विज्ञप्तीमा उल्लेख छ–‘त्यसैले संघलाई अनुशासित र मर्यादित बनाउन उनीहरुलाई निष्काशन गर्नुपरेको हो ।’ संगठनको फाईदाका लागि उनीहरुलाई निष्काशन सम्म गर्नुपर्ने निर्णय लिनुपरेको केन्द्रिय समितिको दाबी छ ।
नेविसंघ कास्की पटक पटक विवादमा तानिँदै आएको छ । नेतृत्वका लागि विवाद भैरहने नेविसंघ कास्कीमा पछिल्लो पटक पनि विवादमा तानिएको थियो । नेतृत्वमा कुरा नमिलेपछि पार्टीले मिलाउने गरि संगठनको विवाद छोडेपनि पार्टीले त्यो विवाद अझै मिलाउन सकेको छैन ।