लोकमान सहित देशभरका अख्तियार टोलि पोखरामा

सागर राज तिमिल्सिना
पोखरा ८ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की सहित देशभरका अख्तियार टोलि पोखरामा भेला भएका छन् । सबै क्षेत्रिय कार्यालयको कार्यप्रगतिबारे जानकारी सहित दुई दिने अन्तरक्रियात्मक कार्यक्रममा सहभागि हुन अख्तियारको टोलि पोखरा केन्द्रित भएको हो । एक महिनाअघि देशका ५ वटा बिकास क्षेत्रमा स्थापना भएको क्षेत्रिय कार्यालयले गरेको कार्यप्रगति र भ्रष्टाचार निबारण सम्बन्धि समसामयिक बिषयमा अन्तरक्रियाको लागि पोखरामा दुई दिने कार्यक्रमको आयोजना गरिएको अख्तियार प्रबक्ता श्रीधर सापकोटाले जानकारी दिए ।प्रमुख आयुक्त कार्कीको आज र भोलि दुई दिन सम्म अति ब्यस्त कार्यसुची रहेको छ । आज पोखरा आए लगतै दिउसो क्षेत्रिय प्रमुखहरुसंग अन्तरक्रियात्मक कार्यक्रम सुरु भएको सापकोटाले बताएका छन् । कार्यक्रममा सहभागिताको लागि पोखरा सहित अन्य सबै क्षेत्रिय कार्यालयका प्रंमुखहरु पोखरामा छन् । आज पहिलो दिन पूर्बाञ्चल बिकास क्षेत्र धनकुटा, मध्यमाञ्चलको हेटौडा र पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखराले सम्पादन गरेका कामको समसामयिक बिषयमा कार्यपत्र प्रस्तुत गरेको अख्तियारले जनाएको छ ।

बाकी क्षेत्र मध्यपश्चिमाञ्चल बिकास क्षेत्र सुर्खेत, र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्रको दिपायल स्थित क्षेत्रिय कार्यालय प्रमुखले भोलि आ–आफ्नो क्षेत्रको कार्यप्रगति प्रतिबेदन पेश गर्ने कार्यतालिका छ । अख्तियार प्रमुख कार्कीले भोलिनै पोखरा स्थित क्षेत्रिय कार्यालयको औपचारिक उद्घाटन गर्ने बताईएको छ ।
गत असोज १ गते स्थापना भएको कार्यालयको औपचारिक उद्घाटन भने ३ महिना पछि हुन लागेको हो । कार्यालयले ३ महिनाको अबधिमा ३ सय ५० भन्दा बढी मुद्धामा छानबिन गरिरहेको पश्चिमाञ्चल क्षेत्रिय कार्यालयका नायब सुब्वा नबराज बरालले जानकारी दिए । भोलि पोखरा कार्यालयको उद्घाटन पछि दिउसो कास्की जिल्ला स्थित क्षेत्रिय तथा जिल्ला स्तरिय कार्यालय प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम समेत हुने अख्तियारले जनाएको छ ।

पोखरामा क्षेत्रिय कार्यालय स्थापना पछि यस क्षेत्रका भ्रष्टाचारसम्बन्धि सबै मुद्धाहरु झिकाई छानाबिन सुरु गरिएको क्षेत्रिय प्रमुख दुर्गा प्रसाद पोखरेलले जानकारी दिए । कार्यालयका अनुसार पश्चिमाञ्चलको ग्रामिण जिल्ला अन्तर्गत पर्बत र तराईका तीन जिल्लाबाट सबैभन्दा बढी उजुरी परेका छन् । र्यालयमा हुलाक मार्फत आएका बेनामे उजुरीको संख्या बढी छ । हिमालपारीको जिल्ला मनाङ र मुस्ताङबाट भने अहिलेसम्म कुनै उजुरी नपरेको बताईएको छ ।
कार्यालयमा प्राप्त उजुरीको आधारमा अहिलेसम्म सबैभन्दा बढी शिक्षा क्षेत्रमा भ्रष्टाचारका उजुरी परेका छन् । त्यस्तै स्थानिय बिकास निर्माणमा भएका उजुरीले जिल्ला बिकास समिति र गाउ बिकास समितिमा भ्रष्टाचार भएको औल्याएको छ ।

कमेन्टहरु
Loading...