रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ को छैटौ सम्मेलन पुष १९ देखि पोखरामा

गोकुल बानियाँ/पोखरा ८ पुष । रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ को छैटौ डिष्ट्रिक सम्मेलन पुष तेस्रो साता पोखरामा हुने भएको छ । आज पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत दिईएको जानकारी अनुसार सम्मेलन आगामी पुष १९ देखि २१ सम्म तीन दिन पोखरामा चल्नेछ । सम्मेलनमा नेपालका ८६ र भुटानको एक गरी कुल ८७ रोटरी क्लब डिष्ट्रिक ३२९२ मा आबद्ध झण्डै १२ सय रोटरियन सहभागि हुने आयोजक समितिका सदस्य सचिब बिनोद कोईरालाले जानकारी दिए ।

सम्मेलनको लागि अमेरिका, पाकिस्तान र कोरियाबाट समेत करिब ४० अन्तरष्ट्रिय स्तरका प्रतिनिधिको सहभागिता रहने बताईएको छ । सम्मेलनमा सहभागि हुन रोटरियनका परिवार समेत आउने भएकाले सम्मेलनको क्रममा झण्डै ४ हजारको उपस्थिति हुने अनुमान गरिएको छ । सम्मेलनमा बिभिन्न रोटरी क्लबले गरेका उत्कष्ट सामाजिक सेवाका कार्यक्रम सम्बन्धि सुचनामुलक प्रस्तुती रहने कोईरालाले बताए । तीन दिने सम्मेलनको दोस्रो दिनबाट बर्ष २०१६÷१७ को लागि नेतृत्व चयन बारे छलफल हुने रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर दिलेन्द्रराज श्रेष्ठले बताए । सम्मेलनको अबसरमा उपस्थित रोटरियनका परिवारलाई लक्षित गरी महिला स्वास्थ्य र शिक्षा सम्बन्धि छलफल कार्यक्रम समेत हुने भएको छ ।

सम्मेलनको एक दिन अघि काठमाण्डौदेखि पोखरा सम्म पूर्ण साक्षरताको लागि रोटरी भन्ने नाराको साथ कार ¥याली हुने श्रेष्ठले जानकारी दिए । ¥यालीमा झण्डै एक सय कारले सहभागिता जनाउने बताईएको छ । सम्मेलनले पोखराको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।

सन् १९०५ फेब्रुअरी २३ मा स्थापना भएको रोटरी पहिलोपटक नेपालमा सन् १९५९ मा रोटरी क्लब अफ काठमाण्डौको रुपमा स्थापना भएको थियो । रोटरी क्लबले शिक्षा, स्वास्थ्य, बिकास निर्माणका बिभिन्न क्षेत्रमा सामाजिक सेवाभाबले काम गर्दै आएको छ । रोटरी फउण्डेशन अन्तर्गत अहिलेसम्म अरवौको आयोजनाहरु सञ्चालनमा रहेको डिष्ट्रिक गभर्नर श्रेष्ठले बताएका छन् ।

कमेन्टहरु
Loading...