पोखरा, ८ पुस/प्रस्तावित सुन्दर समावेशी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आवासका लागि सहयोग समूह लुमन्ति पोखराको आयोजनामा २ दिने महिला स्वास्थ्य सचेतना र सहकारी व्यवस्थापन तालिम शुरु भएको छ । पोखरा १४ चाउथेमा निर्माण भइरहेको सुन्दर टोल र समावेशी टोलका बासिन्दा मिलेर सहकारी गठन गर्न लागेका हुन् ।
कार्यक्रम अन्तर्गत आज दुवै टोलका महिलाहरु सहभागीहरुलाई महिला स्वास्थ्य सम्बन्धमा कुञ्जनी प्यासी र मिना भण्डारीले सहजीकरण गर्नुहुनेछ । त्यस्तै भोली सहकारी सम्बन्धि ऐन नियम, सहकारी सञ्चालन गर्ने तरिका लगायतका विषयमा जिल्ला सहकारी डिभिजन कार्यालयका प्राचार्य नारायणप्रसाद अर्याल र बालकृष्ण सुवेदीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
पोखरामा लामो समयदेखि डेरामा बसोबास गर्दै आएका मध्येबाट समावेशीटोलमा ७५ घर र सुन्दर टोलमा २९ घर निर्माणको प्रक्रियामा रहेको छ । समुदायको अगुवाईमा आवस कार्यक्रम सञ्चालन गर्दै आएको लमुन्तीको सहजीकरणमा अगाडि बढेको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
निकट भविष्यमा नै सुन्दरटोल र समावेशी टोलका बासिन्दा समेटेर सञ्चालनमा आउन लागेको सुन्दर समावेशी सहकारी संस्थालाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि तालिमको आयोजना गरिएको लुमन्ती पोखराका डकुमेन्ट अफिसर सन्तोष जिसीले जानकारी दिनुभयो । लुमन्तीका प्राविधिक गणेशमान पुनले समावेशी तथा सुन्दर टोलका बासिन्दालाई आफूले सक्दो प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।