आठौं पर्वतीय खेलकुदको तयारीमा जुट्यो फेडेरेशन

तस्बिरः सुदर्शन रञ्जित

कमल सुवेदी, पोखरा । माउन्टेन स्पोर्टस् फेडेरेशन गण्डकीले फागुन २० गतेदेखि पोखरामा आठौं पर्वतीय खेलकुद गर्ने तयारी थालेको छ ।

नेपालमा परम्परागत, सहासिक तथा पर्यटकिय खेलकुदको माध्यमद्वारा दिगो पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्यसहित सन् २०१३ मा गठित फेडेरेशनमा १५ वटा विभिन्न राष्ट्रिय खेलसंघ र केही इभेन्टहरु आवद्ध छन् ।

प्रतियोगिताका लागि सम्वन्धित खेल संघका प्रतिनिधि सम्मिलित १७ सदस्यिय व्यवस्थापन समिति गठन गरिएको छ ।

सो अन्तर्गत माउन्टेन स्पोर्टस फेडेरेशनका प्रदेश संयोजक समेत रहेका गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट सहितको ६ सदस्यिय सचिवलायको कार्यदल गठन गरिएको छ । जसको सदस्यमा लक्की क्षेत्री, वसन्त दवाडी, केशव पाठक, दिपक बहादुर गोदार र प्रतिमा गैरे रहेका छन् ।

‘माउन्टेन स्पोर्टस फेस्टिभल’ अन्तर्गत परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्रि रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट बाेर्डिङलगायत १५ खेल प्रस्तावकारुपमा अघि सारिएको छ ।

फेस्टिभल सम्पन्न गर्न १ करोड ८८ लाख अनुमानित खर्च हुने बताइएको छ । उक्त रकम राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, स्थानिय सरकार र प्रायोजक संस्थाहरुबाट सहयोग प्राप्त हुने आयोजकको विश्वास छ । फेस्टिभलका संयोजकमा सुवर्ण श्रेष्ठ रहेका छन् ।

कमेन्टहरु
Loading...