ट्राफिक व्यवस्थापनमा गण्डकी प्रदेशलाई उत्कृष्ट बनाउन मन्त्री चुमानको आग्रह

पोखरा । सवारी दुर्घटना न्यनीकरणका लागि गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले ट्राफिक व्यवस्थापन सुधार कार्यक्रम सुरु गरेको छ । गण्डकी प्रदेश अन्तरगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा समन्वयमा उक्त कार्यक्रम सुरु गरिएको हो ।

यसैबीच तनहुँको व्यास नगरपालिकामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सुधार कार्यक्रमको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री चुमानले हरेक राष्ट्रको ट्राफिक व्यवस्थापनले उक्त राष्ट्रको सभ्यता एवं समृद्धिलाई झल्काउने भएकाले ट्राफिक व्यवस्थापनको सवालमा समेत गण्डकी प्रदेशलाई उत्कृष्ट बनाउन आग्रह गरेका छन् ।

साथै ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनीकरण अत्याधुनिक स्रोत साधन, दक्षता प्राप्त जनशक्ति एवं सभ्य नागरिक बिना सम्भव नहुने भएकाले दीर्घकालिन रुपमा यसको समाधानको लागि गण्डकी प्रदेश सरकार तत्पर रहेको समेत उनले कार्यक्रमम जानकारी दिएका थिए ।

त्यस्तै कार्यक्रममा सहभागी व्यक्तिले सुधार कार्यक्रमको महत्व, यसले ट्राफिक व्यवस्थापनमा पार्ने सकरात्मक प्रभाव र यस्ता कार्यक्रमको निरन्तरता बारे आ–आफ्नो विचार व्यक्त गरेका थिए । साथै २ पांग्रे सवारी चलकलाई सडकमै प्रशिक्षण, चालक सह–चालकलाई प्रशिक्षण र सरोकारवाला निकायसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गण्डकी प्रदेश अन्तर्गतका अन्य जिल्लामा पनि सञ्चालन गरिने छ ।

कमेन्टहरु
Loading...