जनताले राजीनामा मागेको भए प्रधानमन्त्रीले सहजै राजीनामा दिन्थेः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । नेपाल कम्युस्टि पार्टी नेकपा ओली समुहका प्रवक्ता प्रदीप ज्ञवालीले प्रचण्ड–नेपाल समुहले मिलेर पार्टी विभाजनको बिऊ रोपेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयास गर्दा समेत प्रचण्डले नमानेर पार्टी विभाजनको बिऊ रोपेको आरोप लगाएका हुन् । स्वार्थ, पद मोह तथा शक्ति र सत्ता प्राप्त गर्ने लोभले एकता भंग गरिएको उनको भनाई थियो ।

मुलुक निर्वाचनमा होमिइसकेको र यसको तयारीका लागि एकजुट हुन उनले आग्रह गरेका छन् । आफ्नै पार्टीका केही नेता तथा कार्यकर्ताले नै सरकालाई घेराबन्दीमा पारेर काम गर्न नदिएपछि बाध्यतामा परेर प्रतिनिधिसभा विघटन गर्नुपरेको मन्त्री ज्ञवालीले स्पष्टोक्ति दिएका छन् । यति बेला प्रश्न भनेको देशलाई समृद्धिको सपनालाई पुरा गर्ने कि पद हासिल गर्नेहरुको सपना पुरा गरिदिने भन्ने रहेको उनले बताए ।

प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमलटारमा पुगेर एकता महाधिवेशनमा जाऔं, म पद छोड्छु, नयाँ पुस्तालाई हस्तान्तरण गरौं भन्दा समेत प्रचण्ड नमानेको उनको भनाई छ । ‘प्रधानमन्त्री ओलीविरुद्धको अभियोगपत्र फिर्ता लिएर एकतालाई अगाडि बढाउँ भन्दा उहाँहरु मान्नुभएन । पदको मोहमा फस्नुभयो ।’ उनले भने, ‘विकास निर्माणका कामहरु हुँदा पनि प्रधानमन्त्रीले पद छोड्नुपर्ने कारण के ?’

जनताले राजीनामा मागेको भए प्रधानमन्त्री केपी शर्मा ओलीले सहजै राजीनामा दिने उनले दावी गरेका छन् । लोकतन्त्रलाई धरापमा पार्न प्रधानमन्त्री ओलीको राजीनामा मागिएको उनको भनाई थियो । प्रधानमन्त्री, पार्टी अध्यक्ष, राष्ट्रपति लगायतका पदकै लागिमात्र प्रधानमन्त्री ओलीको राजीनामा मागिएको उनको दावी थियो । ‘ओलीलाई निर्वाचनमार्फत् जनताले प्रधानमन्त्री बनाएका हुन् । जनताले नै राजीनामा माग गरेको भए उहाँले सहजै राजीनामा दिनुहुन्थ्यो होला ।’ उनले भने, ‘तर केहीको पद पाउने लोभ तथा सत्ता लोलुपको चाहना पुरा गर्न उहाँले राजीनामा दिने कुरा भएन ।’ प्रधानमन्त्री ओलीको चाहना अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने रहेको उनको दावी थियो ।

कमेन्टहरु
Loading...