गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघद्वारा तनहुँमा सहयोग प्रदान

पोखरा । गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखरामा तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ बसेनीटारस्थित आर्थिक अवस्था कमजोर भएका परिवारलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको छ ।

संघले कोरोना भाइरस महामारीका कारण आफ्नो दैनिकी गुमाएका तथा जीविकोपार्जनमा समस्या भएकाहरुलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको हो । संघका अनुसार उक्त स्थानका ज्येष्ठ नागरिक खड्कबहादुर भुजेल सहित करिब १ सय घरपरिवारलाई न्यानो कम्मल सहित चामल, दाल, चिउरा लगायतका खाद्यान्न वितरण गरिएको छ ।

उक्त गाउँमा करिब ९५ प्रतिशत परिवारको आर्थिक अवस्था कमजोर छ ।

राहत वितरण कार्यक्रममा बोल्दै संघकी अध्यक्ष सरस्वती अर्यालले आफूहरुको सानो सहयोगले समेत आर्थिक अवस्था कमजोर भएको परिवारलाई केही सहज हुने आशा व्यक्त गरिन् ।

केही पाइन्छ कि भन्ने आशबाट भन्दा पनि आर्थिक अवस्था कमजोर भएका परिवारको समस्यामा केही कम आओस् भन्ने हेतुले आफू सहित संघले सहयोग गरेको उनको भनाई थियो ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले सहयोगप्रति आभार व्यक्त गरेका छन् । संघको सहयोगले चिसोका कारण प्रभावित भएका बालबालिका तथा वृद्धवृद्धाहरु लाभान्वित हुने उनले विश्वास व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...