तानागघोसुम पुजामा छैठौ दिन सम्म १० हजार भक्तजनको सहभागीता

पोखरा ०६ पुस/तमु ल्होसारको अवसरमा टांसी छ्योएलिङ्ग गुम्बामा जारी कङ्गयूर पाठ तथा तानागघोसुम पुजामा सहभागी हुने भक्तजनहरुको सहभागीता वढ्दै गएको छ । पुस एक गतेदेखि शुरु भएको पुजामा शनिवार सम्म दश हजार भक्तजनहरुले सहभागीता जनाइसकेका छन । शनिवार मात्रै २ हजार भक्तजनहरुले सहभागीता जनाएको गुम्बाका लामा गुरु फुर्वा गुरुङ्गले जानकारी दिए ।हाम्रो चाहाना विश्व शान्तिको कामना भन्ने मुल नाराका साथ आयोजित कङ्गयूर पाठ तथा तानागघोसुम पुजामा कास्की लगायत छिमेकी जिल्लाहरु स्याङ्गजा, तनहु, पर्वत लगायतका जिल्लाका भक्तजनहरुले समेत सहभागीता जनाएको लामा गुरु फुर्वाले वताए । १२ वर्षदेखि प्रत्येक वर्ष तमु ल्होसारको अवसरमा आयोजना गर्दै आएको पुजा यो वर्षपनि निरन्तरता दिइएकाले छिमेकी जिल्लाका भक्तजनहरुको समेत सहभागीता उल्लेख्य रहेको उनको भनाइ रहेको थियो ।

भगवान गौतम बुद्धको दिब्योपदेश कङ्गयूर पाठ संगै घमण्डी जनवार सांढे, फोहोरी तथा अज्ञानी जन्तु सुंगुर र क्रोध वढी भएको जनवार बाघको टाउकोको प्रतिमा बनाइ क्रोध, घमण्ड र अज्ञानताबाट टाढा राख्नका लागी आयोजना गरिएको तानागघोसुम पुजामा सहभागी भएमा आफुले गरेका नराम्रा कामहरुबाट छुटकारा मिल्ने भएकाले टाढाटाढाबाट समेत भक्तजनहरु आउने गरेको ब्रत आमा समुहका कोषाध्यक्ष बालकुमारी गुरुङ्गले वताइन । तमु जातिको प्रत्येक वर्षको पुस महिनाबाट नया वर्ग फेरिने र त्यसवेला कङ्गयूर पाठमा सहभागी हुनाले ग्रह शान्ति हुने भएकाले भक्तजनहरुको सहभागीता दिन प्रतिदिन वढ्दै गइरहेको गुम्बाका सदस्य शान्ताकुमारी गुरुङ्गले जानकारी दिए ।

कङ्गयूर पाठ तथा तानागघोसुम पुजा गर्नाले मानिसमा हुने अज्ञानता, क्रोध र घमण्डलाई फाल्न सकिने भएकाले सांढे, सुंगुर र बाघको टाउकोको प्रतिमा बनाई नेपालका विभिन्न जिल्लाका ५० भन्दा वढी लामाहरुद्धारा सामुहिक रुपमा पुजा गरिएको गुम्बाले जनाएको छ । कङ्गयूर पाठको छैठौ दिन सम्म आइपुग्दा पुजामा भोजनदान दिनेहरुको समेत घुइचो लाग्ने गरेको छभने विभिन्न संघ सस्थाका ब्याक्तिहरुको समेत पुजामा सहभागीता बढ्दै गइरहेको छ ।

कमेन्टहरु
Loading...