प्रचण्ड–नेपाललाई प्रधानमन्त्री ओलीको व्यंग्यः भेट्नो कुहिएर झरेका २ नेताले रुख हामी हौं भन्दै हिंडे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू इतरका काठमाडौंस्थित जिल्ला भेलालाई आज सम्बोधन गरे । आजको कार्यक्रममा पनि उनले प्रचण्ड–नेपाल इतरलाई व्यंग्य गर्न छाडेनन् । प्रचण्ड–नेपाल समुह पदको लोभमा छुट्टिएको आरोप लगाएका छन् । ‘सुन्तला खान उहाँहरु जानुभएको थियो, कहाँ जानुभयो भन्ने सोचेको, उहाँहरु त सल्लाको जैगलमा जानुभएको रहेछ ।’ व्यंग्य गर्दै उनले भने, ‘सुन्तला खान खोजेर सल्लाको जंगलमा गएर हुन्छ त ?’

प्रचण्डलाई इंगित गर्दै उनले आफूहरु परिवारका लागि नभएर देश तथा देशका सन्तान र भविष्यका लागि लडिरहेको बताएका छन् । ‘हामी छोरा–छोरी, बुहारी, ज्वाईंको लागि लडिरहेका छैनौं, मुलुक तथा मुलुकको सन्तानका लागि लडिरहेका छौं ।’ उनले भने, ‘पार्टी एकीकरण भएपछि पनि ३ महिनामा सम्पन्न हुने कामलाई २/३ वर्षसम्म पनि सम्पन्न गर्नका लागि अवरोध खडा गरियो, नेता तथा कार्यकर्तालाई काम गर्न दिइएन ।’ रुखबाट झरिसकेकाहरु भेट्नोहरुले नै अहिले रुख हौं भन्दै हिंडेको उनको आरोप थियो । ‘रुखबाट झरिसकेका २ वटा भेट्नोहरुले हामी रुख हौं भन्दै हिंडेका छन् ।’ व्यंग्य गर्दै उनले भने ।

प्रचण्ड–नेपाल समुहले आफूहरु नै असली भएको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको खबर आफूले पाएको उनले बताए । विभिसम्मत् ढंगले, पार्टीको नियमावली अनुसार पार्टी सञ्चालन गरेकाले आयोगमा निवेदन दिनु आफूहरुलाई आवश्यक नभएको उनले दावी गरेका छन् । ‘आफ्नै घरमा भएको मान्छे हामी आधिकारिक हौं भन्दै आनुपर्ने आवश्यकता छैन ।’ उनले भने, ‘जसको जमिन हो, उसले मेरो जमिन हो भनिरहनुपर्छ ? यो मेरो गाडी हो भन्दै निवेदन हाल्न जानुपर्छ ?’ पेरिसडाँडामा पत्रकार सम्मलेन गरिएको विषयमा उनले केही मान्छे जम्मा गरेर आन्दोलन घोषणा गर्दैमा केही नहुने उनको भनाई थियो । रत्नपार्कमा औषधी बच्नेहरुसंग पनि त्यति व्यक्ति उपस्थित हुने भन्दै उनले प्रचण्ड–नेपाल समुहलाई व्यंग्य गरे । निर्वाचनका जानका लागि कुनै एजेण्डा नै नभएकाले प्रचण्ड–नेपाल समुहले नेपालमा निर्वाचन हुँदैन भन्दै हिंडेको उनको आरोप छ ।

आफ्नो नेतृत्वको सरकारले राम्रो तथा सकारात्मक विभिन्न कामहरु गरेको भए पनि बाहिर ल्याउन नदिइएको उनको दावी छ । ‘तीव्र गतिमा विकास गर्ने १० वटा देशरुको नाममा नेपाल पनि समेटिएको छ ।’ उनले भने, ‘नेपालको प्रधानमन्त्री पहिले को थिए भन्ने धेरैलाई थाहा थिएन, अहिले जसलाई सोधे पनि भनिदिन्छन् ।’ आफूले जस तथा श्रेयका लागि काम नगर्ने प्रधानमन्त्री ओलीले दावी गरेका छन् । कम्बोडियाले नेपाललाई कोरोना भाइरसको भ्याक्सिन सहयोग गरेको उनले कार्यक्रममा जानकारी दिएका छन् । ‘यसबाट पनि बुझ्न सकिन्छ कि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कसरी अगाडि बढिरहेको छ ।’ उनले भने ।

प्रचण्ड–नेपाल समुहलाई कार्यक्रममा प्रधानमन्त्री ओलीले मानवीय सभ्यताको ख्याल गर्न समेत अनुरोध गरे । लोकतन्त्र, संविधान तथा स्थायी र स्थायित्व खतरामा परेकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको स्पष्टोक्ति थियो । कार्यक्रममा उनले सञ्चारमाध्यमप्रति समेत आक्रोश व्यक्त गरेका छन् । आफूलाई मै हुँ भन्ने सञ्चारमाध्यमले समेत आफूविरुद्ध विभिन्न आरोप सहित समाचार प्रकाशित गरिरहेको उनले बताए ।

उनले प्रचण्ड नेपाल समुहलाई अबको निर्वाचनमा २ वटा अंक भएको सिटमा जित्न चुनौती दिएका छन् । आफूहरुले केन्द्रीय कमिटीमा ठाउँ अझै खाली राखेको बताउँदै उनले फर्किएर आएमा स्वागत गर्ने बताए । ‘केन्द्रीय कमिटीको सिट अझै खाली छ । फर्किएर आउनुस् । तर पार्टीमा काम गर्नुपर्छ । गुट गर्ने होइन ।’ उनले भने ।

प्रचण्ड–नेपाल समुहले आफूहरुसंग बहुमत भएको भन्दै दावी गरे पनि आगामी निर्वाचनसम्म कुर्न उनले आग्रह गरेका छन् । केही व्यक्तिको गलत उद्देश्यका लागि देशलाई उनीहरुको हत्केलामा दिन नहुने उनको भनाई थियो ।

कमेन्टहरु
Loading...