पोखरा, ६ पुस ः सुरक्षा र विकासका सन्दर्भमा सम्वन्धित निकायसँग आपसी सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता पश्चिमाञ्चल होटल संघ पोखराले व्यक्त गरेको छ । संघ र टोल विकास समन्वय समिति बैदामको संयुक्त आयोजनामा शनिवार सम्पन्न डिभिजन सडक कार्यालय २ का प्रमुख तथा वडा प्रहरी कार्यालय बैदामका नवआगन्तुक प्रहरी निरीक्षकको स्वागत कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरिएको हो । डिभिजन प्रमुख प्रभातकुमार झा र बैदाम चौकीका प्रमुख सुन्दर तिवारीलाई एकसमारोहका विच स्वागत गरिएको थियो ।
सो अवसरमा बोल्दै आयोजक संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले बैदाम क्षेत्र कास्की जिल्ला र नेपालकै संवेदनशिल क्षेत्र भएको स्मरण गराउँदै यो क्षेत्रको सुरक्षा, विकास र पर्यटन प्रवद्र्धनका लागि सम्वन्धित संस्थासँग आपसी सहकार्य गरेर अगाडि बढ्ने उद्धेश्य अनुरुप कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । विकास र सुरक्षा एउटा सिक्काको दुई पाटा जस्तो भएको बताउँदै उहाँले समाजका लागि दुबै पक्ष उत्तिकै आबश्यक भएको उहाँले बताउनुभयो ।
संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले विकास र सुरक्षालाई सँगसँगै अगाडि लैजाने मनसायका साथ संघले कार्यक्रम आयोजना गरेको बताउँदै पर्यटकीय क्षेत्रको संवेदनशिलतालाई सबैले मनन गर्न जरुरी भएको बताउनुभयो ।
कुटनीतिक नियोग देखि राष्ट्र प्रमुख र विदेशी पाहुनाले समेत भ्रमण गर्ने क्षेत्र भएका कारण लेकसाइडको विकास र सुरक्षा प्राथमिकतामा पर्नुपर्ने भनाई उहाँले राख्नुभयो । आयोजक समितिका अध्यक्ष गिरिराज अधिकारीले काम गर्नेलाई समयमै प्रोत्साहन गर्नुपर्छ भन्ने मान्यता अनुसार आफूहरु अगाडि बढेको बताउनुभयो । विकास र सुरक्षा दुबै पक्षमा संवेदनशिल भएर अगाडि बढ्नुपर्ने भनाई उहाँको थियो । डिभिजन सडक कार्यालय २ का प्रमुख प्रभातकुमार झाले जीरो किलोमिटरदेखि हल्लनचोकसम्मको बाटो चौडा बनाउने कार्यक्रम अुनसार एक करोड १० लाख रुपैयाँ बजेट व्यवस्था भइसकेको जानकारी दिनुभयो । पोखरा उपमहानगरपालिकाको विभिन्न ठाउँमा कूल २७ किलोमिटर बाटो मर्मत हुने जानकारी पनि उहाँले दिनुभयो ।
सडक सुरक्षाका लागि विश्व बैंकसँग वजेट मागे अनुसार कार्यक्रम स्वीकृत हुने चरणमा रहेको जानकारी पनि उहाँले दिनुभयो । यो काम पोखरा विमानस्थलबाट सिद्धार्थ राजमार्गपट्टि पाँच किमि लम्वाईमा हुने पनि उहाँले सुनाउनुभयो । समग्र क्षेत्रको विकासका लागि भने कूल २७ करोड माग भएकोमा १७ करोड रुपैयाँ वजेट स्वीकृत भएको जानकारी पनि उहाँले दिनुभयो । यसैगरी कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक सुन्दर तिवारीले सुरक्षाका मामलामा कसैगँग कुनै सम्झौता नहुने बताउनुभयो । शान्ति सुरक्षा कायम राख्न नागरिकले गोप्य सुचना दिनुपर्ने बताउँदै नागरिकको गोपनीयताको पूर्ण ख्याल गरिने पनि उहाँले बताउनुभयो ।
नागरिकले सूचना दिंदा समाचारको रुपमा नभई सूचनाकै रुपमा सुरक्षाकर्मीलाई खवर गरे कार्वाही अगाडि बढाउन सहज हुने भनाई पनि उहाँले राख्नुभयो ।
सो अवसरमा पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष गोविन्दराज पहारीले शान्ति सुरक्षा कायम राख्न प्रहरी परिचानलमा कञ्जुस्याई गर्न नहुने बताउँदै लेकसाइडको ध्वनी प्रदूषण तत्काल अन्त्य गर्नेतर्फ सोच्न आग्रह गर्नुभयो । छ नम्वर वडालाई प्राथमिकता दिएर काम हुनुपर्ने, सडक बनाउँदा चौतारा जोगाउनुपर्ने, मालपोतबाट जरेवर निक्लने पुल मर्मत हुनुपर्ने, प्याराग्लाइडिङका सवारीको गति नियन्त्रण गर्नुपर्ने, लेकसाइडमा विग्रेका सीसी टीभी क्यामेरा मर्मत गर्नुपर्ने जस्ता मागहरु पनि कार्यक्रममा राखिएको थियो । कार्यक्रममा संघका महासचिव लक्ष्मण सुवेदी, पुराना पर्यटन व्यवसायी कालिवहादुर परियार, एकिकृत माओवादीका स्थानीय नेता लिलाधर अधिकारी, स्थानीय टोल विकास समितिका रामेश्वर न्यौपाने, समाजसेवी गणेश ढकाल, समाजसेवी हिमनाथ जैसी, आमा समूहकी मैया थापा लगायतले भनाई राखेका थिए ।