कर्णालीका ३ जिल्लामा संक्रमितको संख्या सुन्य

सुर्खेत । कर्णालीका ३ वटा जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या सुन्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या सुन्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सबै संक्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका हुन् । यसअघि रुकुम पश्चिममा २ सय ५५, कालीकोटमा ३ सय २८ र मुगुमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो । विभिन्न आइसोलेशनमा उपचाररत संक्रमित हाल निको भई घर फर्किसकेका छन् ।

सामाजिक विकास मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार सुर्खेतमा ९७, दैलेखमा २, जाजरकोटमा १४, सल्यानमा ३१, जुम्लामा ६, हुम्लामा ११ र डोल्पामा नौ जनागरी १ सय ७० कोरोना संक्रमणका सक्रिय बिरामी छन् । मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ हजार ३ सय ५७ पुगेको जानकारी दिएका छन् ।

आरडिटी र पिसिआर विधिबाट ९६ हजार १ सय २ जनाको गरिएको परीक्षणमध्येबाट ७ हजार ३ सय ५७ जनामा संक्रमण पहिचान भएको हो । कर्णालीका प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल दैलेख र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमका प्रयोगशालाबाट पिसिआर परीक्षण हुँदै आएको छ ।

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट २६ जनाको ज्यान गएको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतका १५ जना छन् । त्यस्तै दैलेखका ६, डोल्पा, कालीकोट, रुकुमपश्चिमका १/१ तथा सुर्खेतमा उपचारका क्रममा बाँकेका २ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । रासस

कमेन्टहरु
Loading...