फितलो अनुसन्धानका कारण न्याय सम्पादनमा जटिलता

पोखरा, ५ पुस /नेपाल प्रहरीले गर्ने घटना सम्बन्धी फितलो अनुसन्धानका कारण न्याय सम्पादनका जटिलता देखिएकोे पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराद्वारा यूएसआईपीको सहयोगमा पुस ५ गते आयोजना गरिएको न्याय सम्पादनमा प्रहरी, सरकारी वकिल र कानुन व्यवसायीवीच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले फौजदारी घटनाको अनुसन्धानका लागि छुट्टटै इकाई स्थापना गर्नु पर्नेमा जोड दिए ।

न्याय सम्पादनको क्रममा पीडितलाई न्याय र पीडकलाई दण्डित गर्नका लागि सरोकारवाला निकायवीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिदै न्यायप्रणालीलाई प्रभावकारी र सबैको पहुँचमा पु¥याउनुु पर्ने बताए । कार्यक्रममा पूनरावेदन अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्यले न्याय प्रणालीलाई सरल, सहज र प्रभावकारी कार्यान्वयनको लागि सबै सरोकारवाला निकायले इमान्दारी भएर समन्वय र सहकार्य गरी अगाडि बढ्नु पर्ने चर्चा गर्दै पहुँचवालाको दवावमा पीडकलाई उन्मुक्ति दिन नहुने र दण्डहीनताको अन्त्य गर्न सबैको दायीत्व भएको बताए ।

कार्यक्रममा सहजीकरण गर्दै अधिवक्ता कमलप्रसाद अर्यालले अपराधीलाई कानुन बमोजिम दण्डित गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै न्याय सम्पादन कार्यलाई पारदर्शी बनाउनु पर्ने बताए । पूनरावेदन सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधीवक्ता नारायणप्रसाद पौडेलले न्याय सम्पादनको क्रममा कानुनले निर्दिष्ट गरेका कुरामा सरोकारवाला निकायसँग सहकार्य हुने बताउदै नीतिगत समस्यालाई सुधार्नु पर्नेमा जोड दिए । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहन्याधीवक्ता सुरेन्द्रराज काफ्लेले प्रहरी अनुसन्धानमा दक्ष भए जस्तै कानुनमा पनि दक्ष भएमा न्याय सम्पादनमा प्रभावकारी हुने धारणा व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेशनाथ वास्तोलाले प्रहरीले देशको परिस्थिति, भौगोलिक विकटता, स्रोत साधन, तालिमको कमीकमजोरी भए तापनि निर्दोषलाई दोषी बनाउने र अपराधीलाई छुटाउने नगरिएको बताए । राष्ट्रिय मानवअधिकार आयोग पोखराका निमित्त निर्देशक यज्ञप्रसाद अधिकारीले पीडितमैत्री कानुन, पीडित र साक्षीको सुरक्षा सम्बन्धी संयन्त्र नहुदा न्याय सम्पादनमा समस्या रहेको बताए । शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका अध्यक्ष तिलक आचार्यले झण्झटिलो कानुनी व्यवस्थालाई संशोधन गरी सहज र प्रभावकारी न्याय प्रणाली अपनाउनु पर्ने बताए ।

कमेन्टहरु
Loading...