प्रधानमन्त्री ओलीलाई हटाएर सडकमा पु¥याउन खोज्दा आफै सडकमा पुगेः नेता रायमाझी

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका नेता टोपबहादुर रायमाझीले सहमति कै आधारमा तत्कालीन एमाले तथा माओवादीबीच पार्टी एकता भएको बताएका छन् । पोखरामा आज भएको ओली समुहको बृहत युवा भेलालाई सम्बोधन गर्दै उनले सहमतिमा नै पार्टी एकता भएको तर अन्तरविरोध तथा शत्ता र शक्तिको लोभले एकता भंग हुने अवस्था आएको बताएका हुन् । सरकारलाई कामकाजी गराउनुपर्ने तथा काम गर्न घच्घचाउनु पर्नेमा हरेक दिन किचकिच गर्ने काम भएको उनको आरोप छ ।

अहिलेको अवस्थामा पार्टी विभाजनको अवस्थामा पुग्नु प्रधानमन्त्री तथा अध्यक्ष वर्तमान प्रधानमन्त्री ओलीमात्र हुन्छन् कि भन्ने सोचले आएको उनको भनाई थियो । ‘महाधिवेशन तथा निर्वाचनमा गए अध्यक्ष तथा प्रधानमन्त्री फेरी पनि ओली नै बन्छन् कि भन्ने सोच प्रचण्ड–नेपाल समुहलाई आयो होला ।’ उनले भने, ‘हामीले पद तथा सत्ता र शक्तिमा जान पाउँदैनौं कि भन्ने आधारमा समीकरण गराएर गुट बनाइयो, त्यसपश्चात् बिना कारण वर्तमान प्रधानमन्त्री विरुद्ध चलखेल सुरु भयो ।’ अध्यक्ष, प्रधानमन्त्री तथा राष्ट्रपतिको पद हामीले पाउँदैनौं कि भन्ने सोंच हावी भएकैले अहिलेको अवस्था निम्तिएको उनको भनाई थियो ।

प्रचण्ड–नेपाल समुहले पहिलेदेखि नै पार्टी विभाजन गर्ने खेल सुरु गरेको उनले आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याउन २५ प्रतिशतको हस्ताक्षर गरेर संसद अधिवेशन बोलाउने योजना बनाएको उनको भनाई थियो । प्रचण्ड–नेपाल समुहमा सरकार ढाल्ने तथा बनाउने हैसियत नभएको उनले बताए । प्रधानमन्त्री ओलीसंग विकल्प नभएर नै प्रतिनिधिसभा विघटन गरेको उनले दावी गरे । ‘विपक्षले प्रधानमन्त्री ओलीविरुद्ध योजना बनाउनु कुनै नौलो कुरा होइन ।’ उनले भने, ‘तर आफ्नै नेताले अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुप¥यो ।’

जनताको मतको सम्मान तथा संसदको माया चियो भने प्रचण्ड–नेपाल समुहले आफ्नै पार्टीले नेतृत्व गरेको सरकार ढाल्ने कोसिस नगर्ने उनले बताए । प्रधानमन्त्री ओलीलाई कारवाही गर्न कारण देखाउन उनले चुनौती दिएका छन् । ‘लिम्पियाधुरा, कालापनीलाई समेटेर नक्सा सार्वजकिन गर्नुभो त्यसका लागि ओलीलाई कारवाही गर्ने, विभिन्न विकास निर्माणका काम अगाडि बढेका छन्, त्यसका लागि कारवाही गर्ने ?’ आक्रोशित हुँदै उनले प्रश्न गरे ।

प्रधानमन्त्री हुन अर्को चुनाव कुर्न नसक्ने तथा पार्टी अध्यक्ष हुन अर्को महाधिवेशन कुर्न नहुने भन्दै उनले प्रचण्ड–नेपाललाई कटाक्ष गरे । पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले आफैले टीका लगाएर आफूले आफैंलाई अध्यक्ष घोषणा गरेको उनको भनाई थियो । अध्यक्ष हुने मन सबैलाई हुने भन्दै उनले होटलमा गएर बन्न नसकिने उनले बताए । आफूहरु ठीक ठाउँमा भएको बताउँदै नेता रायमाझीले प्रचण्ड–नेपाल समुहले बाटो बिराएको बताएका छन् ।

आफैले बनाएको प्रधानमन्त्रीलाई हटाउन खोजेपछि अहिलेको अवस्था आएको उनको भनाई थियो । ‘प्रधानमन्त्री ओलीलाई हटाएर सडकमा पु¥याउन खोजिएको थियो ।’ उनले भने, ‘अहिले उहाँहरु आन्दोलनका नाममा सडकमा पुग्नुभयो ।’

कमेन्टहरु
Loading...