सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । १४ दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् ।

लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन् । होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको संक्रमणका कारण यस यामका सुरुआतका ६ वटा खेल गुमाएका थिए ।

नेपालमै छँदै कोरोनाबाट संक्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएको व्यवस्थापक शिवाकोटीले जानकारी दिएका छन् । उनी बुधबार क्वारेन्टाइन मुक्त भएका हुन् । उनी सम्मिलित टोली होबार्ट सातौं खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका ६ खेलमा होबार्ट ४ मा जित तथा २ खेलमा हारका साथ ८ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ ।

बिगबास खेल्न लामिछाने गत मंसिर ३० गते अष्ट्रेलिया गएका हुन् । क्वारेन्टाइन अवधि सकिएपछि उनी नियमित अभयासमा जुटेको व्यवस्थापक शिवाकोटीले बताए । लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरू हुने बताइएको छ ।

उनले तेस्रो पटक बिगबास लिग खेल्न लागेका हुन् । लामिछानेले यसअघि २ यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए । ती २ याममा उनले कूल २० खेल खेल्दै २६ विकेट लिएका थिए । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट संक्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र उनी अष्ट्रेलिया उडेका थिए । रासस

कमेन्टहरु
Loading...