काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको तयारी पुनः सुरु भएको छ । पार्टीभित्रको आन्तरिक विवादका कारण केही समयका लागि रोकिएको मन्त्री ज्ञवालीको भारत भ्रमणको तयारी पुनः सुरु भएको हो ।
डिसेम्बर दोस्रो हप्ता उनी भारत भ्रमणका लागि जाने गृहकार्य अगाडि बढेको थियो । तर आफ्नै पार्टीभित्रको चरम विवादका कारण उक्त समयमा मन्त्री ज्ञवाली भारत भ्रमणका लागि जान सकेका थिएनन् ।
जनवरीको पहिलो हप्तामा नै जाने तयारी भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि उनी भारत जान सकेनन् । स्रोतका अनुसार अब भने उनी केही दिनमा नै भ्रमणका लागि जाने भएका छन् ।
जनवरीको दोस्रो हप्तामा भ्रमणका लागि तयारी नेपाल तथा भारत दुवै पक्षले अगाडि बढाएका छन् । संयुक्त आयोगको बैठकमा भाग लिन दिल्ली जान लागेका ज्ञवाली कुन दिनमा जान्छन् भन्ने विषयमा खुलाइएको छैन । आउने हप्ताबाट प्रतिनिधिसभा विघटनका विषयमा सर्वोच्च अदालतमा छलफल हुने भएकाले मिति नखुलाइएको स्रोतले जानकारी दिएको छ ।