काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरी चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको बताएका हुन् ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सन्चार तथा प्रचार विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले ओलीको निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् ।
यद्यपी उनले कांग्रेसले अहिले आन्दोलन नगर्ने बताएका छन् । आन्दोलनका नाममा धम्काउन नहुने उनले बताए । ‘आन्दोलनको नाममा अदालतलाई धम्क्याउन मिल्दैन। कसैको खिलापमा भयो भने पछि पनि आन्दोलन हुने भएकोले सोचे विचार गरेरै हामीले आन्दोलन नगरेको हो,’ देउवाले भने, ‘अदालतको निर्णय पर्खनुपर्छ।’