प्रचण्ड–नेपालको माग पछि नेकपाको बैंक खाता रोक्का

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैंक खाता रोक्का हुने भएको छ । अब नेकपाले बैंकको खाता सञ्चालन गर्न पाउने छैनन् ।

आन्तरिक विवादमा फसेपछि आ–आफ्नै समुहका साथ फुटेको तर औपचारिक घोषणा हुन बाँकी नेपाल कम्युनिस्ट पार्टीको बैंक खाता हालका लागि रोक्का हुने भएको हो । अब पार्टीको विवाद साम्य नभएसम्मका लागि हरेक बैंकमा रहेको बैंक खाता रोक्का हुने छ ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार निर्वाचन आयोगले निर्णय नगरेसम्मका लागि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको समुह तथा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले कुनै पनि बैंकमा रहेका खाता सञ्चालन गर्न पाउने छैनन् ।

यस अगाडि नेकपाभित्र विवाद कायम रहेको र सम्पतिमा कसको हक लाग्छ भन्ने एकिन नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले तत्कालका लागि बैंकका खाता रोक्का गर्नुपर्ने भन्दै बैंकहरुलाई पत्राचार गरेका थिए ।

बैंकलाई पठाइएको पत्रमा प्रचण्ड तथा नेपाल दुवैले हस्ताक्षर गरेको बताइएको छ ।

कमेन्टहरु
Loading...