पदयात्रा मजदुरहरु आन्दोलित

पदयात्रामा जाने पर्यटकहरुलाई समेत रोक्ने चेतावनी
पोखरा, ४ पुस /पदयात्रा क्षेत्रमा काम गर्ने मजदुरहरु आन्दोलित भएका छन् । पदयात्रा मजदुरहरुको समस्याहरुको बारेमा सम्बन्धित सरोकारवालाहरुले वेवास्ता गरेको भन्दै उनीहरु चरणबद्ध रुपले आन्दोलित बनेका हुन् । उनीहरुले पदयात्रामा जाने विदेशी तथा नेपाली पर्यटकहरुलाई रोक लगाउने सम्मको आन्दोलनको घोषणा गरेका छन् । नेपाल ट्रेकिङ,ट्राभल्स, ¥याफ्टिङ, एअरलाईन्स मजदुर युनियनका अध्यक्ष विजय केसी र अखिल नेपाल पर्यटन मजदुर संघ क्रान्तिकारीले बुधबार सँयुक्त प्रेश विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । ‘पदयात्रा मजदुरहरुको समस्याको विषयमा सम्बन्धित संघसंस्थाहरुसंग पटकपटक समाधानका लागि आग्रह भएपनि उनीहरुबाट कुनै सम्बोधन नभएकोले हामी आन्दोलनमा आउन बाध्य भएका हौँ ।’ सँयुक्त प्रेश विज्ञप्तीमा उल्लेख छ–‘माग सम्बोधन नहोउन्जेल हाम्रो आन्दोलन जारी हुनेछ ।’

आन्दोलनको घोषणा गर्दै पदयात्रा मजदुरहरुले सम्बन्धित संस्थाहरुमा ६ बुँदे मागपत्र समेत बुझाएका छन् । पर्यटन बोर्ड, टान, जिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लगाएतका संस्थालाई उनीहरुले आफ्नो मागपत्र बुझाएका हुन् ।

माग पुरा नभएको खण्डमा ट्रेकिङ एजेन्ट एशोसियसन अफ टान, पर्यटन वोर्ड, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालयहरुमा तालाबन्दी गरिने पदयात्रा मजदुरहरुले चेतावनी दिएका छन् । यति गर्दा पनि माग पुरा नभए उनीहरुले पदयात्रामा जाने पर्यटकहरुलाई समेत रोक्ने बताएका छन् ।

पोखरामा आउने प्रायजसो आन्तरिक तथा विदेशी पर्यटकहरु पदयात्राका लागि आउने गरेका छन् । पदयात्रामा जाने पर्यटकहरुले पदयात्रा मजदुरहरुको सहयोग लिने गरेका छन् । पदयात्रा मजदुरहरु आन्दोलित भएपछि पदयात्रामा आउने पर्यटकहरु प्रभावित हुने भएका छन् ।

कमेन्टहरु
Loading...