पोखरा, ४ पौष/शिक्षा, स्वास्थ्य, खाद्यअधिकार लगायतका आधारभूत अधिकारका लागि सरोकारवाला निकायले सामुहिक पहल गर्नुपर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराद्वारा आयोजित शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका लागि सरोकारवाला निकायवीच अर्धवार्षिक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले शिक्षा, स्वास्थ्य र खाद्यअधिकार सुनिश्चित गर्नको लागि स्थानीय समुदाय, नागरिक समाज, राज्यका निकाय र सरोकारवाला निकायवीच समन्वय र सहकार्य हुनु पर्नेमा बताए । उनीहरुले कृषिलाई व्यवसायीकरण गर्नुपर्ने, शिक्षा र स्वास्थ्यको सेवालाई प्रभावकारी र नियमित रुपमा सेवा उपलब्ध गराउनु पर्ने बताए । जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्वास्थ्यको बारेमा सहजीकरण गर्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासन रमेश अधिकारीले स्वास्थ्य सेवाका लागि कर्मचारीहरुलाई उपस्वास्थ्यचौकीमा नियमित खटाउन पहल गरिएको, प्राथमिक उपचारको लागि औषधी उपलब्ध गराईएको र विभिन्न स्वास्थ्यमूलक कार्यक्रमहरु सञ्चालन गरिएको बताए । उनले सिद्ध गाविसको उपस्वास्थ्यचौकीमा इन्सेक लगायतको सरोकारवाला निकायको पहलमा अहेव खटाईएको बताए ।
त्यसैगरी कृषिका बारेमा सहजीकरण गर्दै जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत गंगाबहादुर थापाले कृषकको चाहना र आवश्यकता अनुसार बाली संरक्षण तथा औजार, उन्नत वीऊ, विजन वितरण, महिला तथा पिछडिएका वर्गका लागि विशेष कार्यक्रम र प्राङ्गारिक खेतीमा जोड दिइएको बताए । उनले इन्सेकको पहलमा पुस ८ गते सिद्ध गाविसमा निःशुल्क माटो परीक्षण कार्यक्रम गर्न लागेको बताए ।
जिल्ला शिक्षा कार्यालयका उपसचिव रुद्रनारायण सापकोटाले सिद्ध गाविसको साक्षरता कार्यक्रमको लागि इन्सेकको महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको अभाव भएकोले भर्ना अभियान र गुणस्तरीय शिक्षामा जोड दिइएको बताए ।
कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, मानवअधिकार निगरानी समुह कास्कीका अध्यक्ष कृष्णप्रसाद बराल, नागरिक समाजका विष्णु बराल, पूण्य पौडेल, माया गुरुङ, इन्दिरा पौडेल, जमुना शर्मा, केशु भूजेल लगायतले बोलेका थिए ।
कार्यक्रममा इन्सेक पोखराका कार्यक्रम संयोजक शवनम शर्माले इन्सेकले जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले सिद्ध गाविसमा विभिन्न सचेतनामूलक र समन्वयात्मक कार्यक्रम सञ्चालन गरिरहेको बताईन् ।