पोखरा । नेपाली कांग्रेस कास्कीकी सचिव लक्ष्मी पाण्डेले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी सोंच देखाएको बताएकी छिन् । सत्ता र पदका लागि संसद विघटन गर्नु गलत भएको उनको भनाई थियो ।
‘यो सरकारको कदमको विरोध गर्नुपर्छ ।’ उनले भनिन्, ‘यसको मतलब नेपाली कांग्रेस चुनावसंग डराएको होइन ।’ सरकारको प्रतिगामी कदम विरुद्ध सडकमा आउन समेत उनले सबैलाई अपील गरेकी छिन् ।
क्षेत्र नम्बर २ का पार्टी नेता गुरुप्रसाद बरालले कुनै पनि संसारका कम्युनिस्टले जनमतलाई नमान्ने तथा प्रधानमन्त्री ओलीले समेत यो प्रमाणित गरेको बताएका छन् । कम्युनिस्टले युवाहरुको भविष्यलाई अंध्यारोमा धकेल्ने काम गरेको उनको आरोप छ ।
कम्युनिस्टहरुले संसदका विरुद्ध अधिनायकवाद खोजिरहेको उनको आरोप छ । लोकतन्त्र तथा राष्ट्रिय स्वाधिनताका लागि एक हुन उनले आम नागरिकलाई अपील गरेका छन् ।
कास्की क्षेत्र नम्बर २ ‘ख’ का सभापति विन्दुकुमार थापाले कम्युनिस्ट सरकारले संसद विघटन गरेर संवैधानिक कु गरेको आरोप लगाएका छन् । कम्युनिस्ट सरकारको पालामा हत्या, हिंसा तथा बलात्कारका घटनामा झन् वृद्धि भएको उनको भनाई छ ।
हरेक परिस्थितिमा कांग्रेसले मात्र विकल्प दिएको उनले दावी गरेका छन् । २ तिहाईको सरकारले देखाएको दम्भलाई पराष्ट गर्न कांग्रेसले मात्र सक्ने थापाले दावी गरेका छन् । वर्तमान सरकारले रेल, पानी जहाज तथा अन्य विकासका कुरा गरे पनि अहिले आएर ‘एक घर एक सक्रिय सदस्य’ बनाउनतर्फ लागेको बताए । ‘एक घर एक सक्रिय सदस्य भन्नु नेपाली काग्रेसले लागु गरेको हो ।’ उनले भने, ‘सरकारको गलत कामका विरुद्ध हामी एक भएर विरोध गर्नु आवश्यक छ ।’