काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ ।
सरकारले प्रतिनिधिसभाको निर्वाचन २ चरणमा आगामी वैशाख १७ र २७ गर्ने गरी मिति तोकिसकेकोे छ । यद्यपि उक्त निर्वाचनका विषयमा दलबीच उत्पन्न भएको विवाद निरुपणका लागि सर्वोच्च अदालतमा विषय प्रवेश गरेको छ । आयोगले ऐनमा व्यवस्था भएअनुसार निर्वाचन घोषणा भएलगत्तै ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट गरिरहेको मतदाता नामावली संकलन स्थगन गरेको छ ।
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैभन्दा पहिले आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका बनाउनुपर्ने हुन्छ । निर्वाचनसम्बन्धी ऐनकानुनले व्यवस्था गरेअनुरुप त्यस्तो काम विधि र प्रक्रियाले तोकिएको मितिभन्दा अगाडि पनि गर्न सकिँदैन, पछि सार्न पनि मिल्दैन ।
तोकिएको मितिमा ठीकठीक तरिकाबाट कार्यसम्पन्न गर्ने सिलसिलामा हाल कार्यतालिका निर्धारणका लागि मस्यौदा तयार गरिसकिएको छ । उक्त मस्यौदा निकट भविष्यमै अन्तिमरुप दिएर निर्णयका लागि पेश हुने क्रममा रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेट अनुमानको काम गरिरहेको छ । उक्त निर्वाचनका लागि केकस्ता क्रियाकलाप गर्नुपर्छ, त्यसका लागि कति जनशक्ति के–कति समय परिचालन हुन्छ र त्यसमा के–कस्ता अन्य स्रोत सामग्री आवश्यक पर्छ भन्ने आधारमा बजेटको निक्र्योल गर्नुपर्ने भएकाले आयोगले बजेट अनुमान गर्ने काम भइरहेको बताइएको छ ।
विगतका निर्वाचनकै विधि प्रक्रिया र क्रियाकलाप गरिने भए पनि कति मात्रामा जनशक्ति परिचालन गर्छौं, कति समयमा त्यो क्रियाकलाप सञ्चालन हुन्छन्, केकस्ता सामग्री प्रयोग गर्छौं भन्नेसँग बजेट निर्धारण हुने उनले बताएका छन् । यद्यपि अघिल्लो आमनिर्वाचनमा ७ अर्बको हाराहारीमा खर्च भएकाले यस पटक पनि सोही वरपरकै खर्च हुने अनुमान छ ।
अहिलेको निर्वाचन कोरोनाका कारण स्वास्थ्यका दृष्टिकोणले निर्वाचन व्यवस्थापन गर्नुपर्ने भएकाले केही खर्च थप लग्ने अनुमान गरिएको छ । बजेट तर्जुमाको काम भइसकेपछि आयोगले स्वीकृत गरी अर्थ मन्त्रालयसँग अनुरोध गर्ने छ । निर्वाचनका लागि प्रयोग हुने मतपेटिकालगायत अत्यावश्यक सामग्री जिल्ला निर्वाचन कार्यालयमा के, कति र कस्तो अवस्थामा मौज्दात छ, नपुग हुने सामग्री कति हो भन्ने विवरण आयोगले लिइरहेको छ । त्यससम्बन्धी विवरण प्राप्त भइसकेपछि आवश्यक थप सामग्री व्यवस्थापन गरिने छ ।
सवारी साधन, मेसिनरी औजारको संख्या र अवस्थाबारे आयोगले जिल्ला–जिल्लाबाट विवरण लिइरहेको छ । त्यस्ता सामग्रीको मर्मत सम्भार गर्न लाग्ने खर्च तथा कम्प्युटर, फोटो कपी, फयाक्सलगायत सामग्रीको अवस्थाको विवरण पनि कार्यालयबाट मागिरहेको छ ।
निर्वाचनका सन्दर्भमा प्रयोग हुने निर्देशिका, कार्यविधिअनुसार विद्यमान, ऐनकानुनका आधारमै निर्वाचन हुने भए पनि आयोगले आचार संहितालगायत विषयलाई अद्यावधिक गर्नुपर्ने छ । सो कार्य सुरु भएको छ ।
निर्वाचन कार्यतालिका आयोगबाट स्वीकृत भएपछि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्न सूूचना प्रकाशन गर्ने, दलसँग अरु कार्यमा सरसल्लाह गर्ने, मनोनयपत्र दर्ता गर्नेदेखि निर्वाचन चिह्न प्रदान र मतदान गर्नेसम्मका कार्य हुनेछ ।
त्यसका लागि आवश्यकता र प्राथमिकता निर्धारण गरी आयोगले योजनाबद्ध र व्यवस्थितरुपमा गर्ने छ । निर्वाचन आयोगमा हाल १ सय ३० भन्दा बढी राजनीतिक दल दर्ता छन् । मतदातको संख्या भने १ करोड ५४ लाखको हाराहारीमा छ । निर्वाचनलाई व्यवस्थित र मर्यादित तुल्याउन के, कस्ता विषयमा विशेष ध्यान पु¥याउनुपर्छ भनी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विगतमा आयोगमा रही अनुभव हासिल गरेका सूचना प्रविधि मन्त्रालय र सरकारी सञ्चारमाध्यमका पदाधिकारीसँग राय, सुझाव र सल्लाह लिएका छन् । रासस