दिपक के श्रेष्ठ
अघिल्लो आइतबार प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि पोखरामा दुबै पक्षले फरकफरक कार्यक्रम गर्न थालेका छन् ।
रोचक कुरो त के भने दुबै पक्षले नेकपाकै नाममा कार्यक्रम आयोजना गरी कार्यकर्तालाई सहभागी हुने आव्हान गरिरहेका छन् । दुबैका कार्यक्रममा ओली र प्रचण्ड–नेपाल (प्रने) समूहका नेताले सम्बोधन गरे पनि पार्टीको नाम भने नेकपा नै भनेका छन् ।
संसद विघटन र यससम्बन्धी मुद्दाको बहस अदालतमै रहेकाले पनि दुबै पक्षले नेकपा भनिरहेका छन् । यस्तै, दुबै पक्षले चुनाव चिन्ह सूर्य आफैले पाउने दावा गरिहेका छन् ।
यसैबीच, नेकपाको ओली पक्षधर भातृ संगठन राष्ट्रिय युवा संघ गण्डकी प्रदेशले १० गते पोखरा सभागृहमा प्रदेशस्तरीय भेला आयोजना ग¥यो । जसको ब्यानरमा पार्टीको नाम नेकपा उल्लेख छ ।
त्यस्तै, प्रने पक्षधरहरुले शनिबार पोखराको व्हाइटहाउस पार्टी प्यालेसमा विस्तारित बैठकको आयोजना ग¥यो । जहाँ पार्टीको नाम नेकपा नै उल्लेख गरियो । यसरी नेकपाको नाममा दुबैले भेला, कार्यक्रम आयोजना गर्दा उनीहरुलाई छुट्याउने प्रमुख माध्यम भने तस्बिर बनेको छ ।
ओली पक्षधरको भेलामा प्रयोग गरिएका ब्यानरमा ३ कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर राखिएको छ । यसैगरी, प्रनेको ब्यानरमा चिनीयाँ कम्युनिष्ट नेता माओत्से तुङको तस्बिरलाई अग्रभागमा स्थान दिइएको छ ।
एकीकरणपूर्व नेकपा एमालेले पार्टीको नाम अनुरुप कार्ल माक्र्स र भी आइ लेनिन एवं नेकपा एमाओवादीले माओकै तस्बिर प्रयोग गरेका थिए । हाल ओली समूहले नेपाली कम्युनिष्ट नेताको तस्बिरलाई प्रयोग गर्न सुरु गरेको छ ।