पोखरा । पोखरा फोटोग्रफर संघ महिला उपसमितिले मस्तिष्क पक्षघात भएका बालबालिकालाई सहयोग गरेको छ । दानपेटिकामा संकलन भएको रकम १७ हजार बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो ।
उपसमितिले १ वर्षसम्मको अवधिमा संकलित रकमबाट सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको कार्यक्रम संयोजक पूर्णकुमारी थापाले जानकारी दिएकी छिन् । उनका अनुसार कोरोना भाइरसको असहज परिस्थितिमा पनि संघमा आबद्ध दिदीबहिनीबाट अन्य खर्च कटाएर संकलन गरेको रकम मस्तिस्क पक्षघात भएका बालबालिकालाई प्रदान गरिएको हो ।
मस्तिष्क पक्षाघातका कारण असहज परिस्थितिमा परेका बालबालिकाका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने साथी संसार नेपालका खुमकुमारी रानाको भनाई छ । सो अवसरमा संघका सदस्य नन्दकला पौडेल, पोखरा फोटोग्राफर संघका निवर्तमान अध्यक्ष तुल्सीराम अधिकारीलगायतले फरक क्षमता भएका बालबालिकाका लागि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए । रासस