पोखरा, ३ पुस। नेशनल प्याब्सान कास्कीको आयोजनामा पोखरामा जारी १० औं एन–प्याब्सान स्पोर्टस् मिट–२०७० को औपचारिकरूपमा बुधबार उद्घाटन गरिएको छ। स्पोर्टस् मिटको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–स्चिव युवराज लामाले खेलकुदमा जीत र हार महŒवपूर्ण भए पनि सबैभन्दा ठूलो कुमार सहभागिता भएको बताए। उनले विद्यालयस्तरबाट खेलकुदको विकास गर्नुपर्छ भनेर नै राखेपले विद्यालयस्तरीय प्रतियोगितालाई प्राथमिकता दिएको बताए। लामाले नेपालमा सबैभन्दा ठूलो कभर्डहल निर्माणको काम पनि सुरु भइसकेको जानकारी दिए।
पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका उपनिर्देशक मोतीलाल शर्माले शिक्षाको नैतिक धरातल कमजोर हुन पुगेको अवस्थामा गुरु सेवाको माध्यमबाट भोलिका कर्णाधार बनाउन स्पोर्टस् मिटलगायतका अतिरिक्त क्रियाकलाप सहयोगी हुने विचार व्यक्त गरे। नेपाली काङ्ग्रेस कास्कीका सचिव युवराज कुँवरले खेलकुदभित्र कुनै पार्टी, जातजाति नभई राष्ट्रियता मात्र हुने बताए।
स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले खेलकुद स्वास्थ्यको लागि मात्र नभइ सामाजिक उत्थानको लागि पनि भएको बताए। उनले खेलकुदलाई विद्यालयस्तरबाट बलियो बनाएर लग्दा सञ्चारजगतले पनि खेलकुद समाचारलाई छु्टटै स्थान दिएको बताए। एन–प्याब्सान कास्कीका संस्थापक अध्यक्ष महेश्वरप्रसाद बाटाजूले आफूले स्थापनाकालमा देखेको सपनालाई त्यसपछिका साथीहरूले पूरा गरेकोमा गर्व महसुस भएको बताए। उनले एन–प्याब्सान कास्कीलाई फलेर, फुलेर शैक्षिक क्षेत्रमा सधैँ अग्रता लिन सुझाव दिए।
प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले मुलुकको शैक्षिक विकासमा निजी क्षेत्रको महŒवपूर्ण भूमिका रहेको दाबी गर्दै गुणस्तरीय शिक्षक र खेलकुदका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए। उनले शैक्षिक सवालमा प्याब्सन र एन–प्याब्सान मिलेर अगाडि बढ्ने बताए।
पुस्तक प्रकाशन ग्रहको तर्फबाट ज्ञानबहादुर कार्कीले एन–प्याब्सान कास्कीले १० औं पटक स्पोर्टस् मिट आयोजना गरेर खेलकुदको विकासमा महŒवपूर्ण योगदान दिएकोमा प्रशंसा गरे।
१० औं एन–प्याब्सान स्पोर्टस् मिट मूल समारोह समितिका संयोजक एवं एन–प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एन–प्याब्सानका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई र कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले पनि मन्तव्य व्यक्त गरेका थिए।एन–प्याब्सान कास्कीका उपाध्यक्ष शिवदत्त तिवारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव केशवशरण पौडेलले गरेका थिए।
उद्घाटनका अवसरमा आयोजित मार्चपासमा अञ्जुली बोर्डिङ स्कुल प्रथम, ओम एकेडेमी द्वितीय, गोर्खा बोर्डिङ स्कुल तृतीय र डायमण्ड मोडल स्कुल सान्त्वना भएका थिए। मार्चपासमा ३६ विद्यालयको सहभागिता रहेको थियो।सो अवसरमा खेलाडीको तर्फबाट कास्की मोडनाइज एकेडेमीका अन्जु गुरुङ र अफिसियलको तर्फबाट गजबहादुर गुरुङले सपथ लिएका थिए।
उद्घाटनका अवसरमा चार खेलका फाइनल भए। १५ सय मिटर छात्र दौडमा ४ः५४ः३१ सेकेण्डमा पूरा गर्दै कास्की मोडनाइज एकेडेमीका आशिष थापा प्रथम, ५ः००ः८४ सेकेण्डमा पूरा गर्दै साइनिङस्टार बोर्डिङ स्कुलका यमन रसाइली द्वितीय तथा ५ः०५ः४१ सेकेण्डमा पूरा गर्दै सिद्धार्थ लवडेल स्कुलका अमितजंग हिमाली तृतीय भए। आठ सय मिटर छात्रा दौडमा ३ः०३ः३५ सेकेण्डमा पूरा गर्दै कास्की मोडनाइज एकेडेमीकी सविना केसी प्रथम, ३ः१५ः४८ सेकेण्डमा पूरा गर्दै हेमजा बोर्डिङ स्कुलकी संस्कृति पौडेल द्वितीय र ३ः२०ः१५ सेकेण्डमा पूरा गर्दै ओम एकेडेमीकी अञ्जिमा गुरुङ तृतीय भए।
छात्रा सटपुटमा ७.३८ मिटर फाल्दै राइजिङ स्टार एकेडेमीकी पुष्पा सुनार प्रथम, ७.०९ मिटरफाल्दै सिद्धार्थ लवडेलकी छिरिङ गोम्पा गुरुङ द्वितीय र ७.०८ मिटर फाल्दै कान्तिपुर एकेडेमीकी प्रतीक्षा सिके तृतीय भइन्। छात्र हाइजम्पतर्फ ज्ञ.४५ मिटर जम्प गर्दै कास्की मोडनाइज एकेडेमीका सावन नेपाली प्रथम, १.४० मिटर जम्प गर्दै त्रिवेणी पब्लिक स्कुलका आशिष बराल द्वितीय र १.३६ मिटर जम्प गर्दै हावर्ड एकेडेमीका केश गुरुङ तृतीय भए।