काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा उपाध्यक्ष बामदेव गौतमबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ ।
भेटका क्रममा उपाध्यक्ष गौतम कुन पक्षमा लाग्ने भन्ने विषयमा कुराकानी भए पनि उनी अझै खुलिनसकेको बताइएको छ ।
आन्तरिक विवाद बढ्दै जाँदा नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित भइसकेको छ । तर विभाजनको औपचारिक घोषणा भने भइसकेको छैन । पार्टीमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रचण्डबीच चर्को विवाद रहँदै आएको थियो ।
विवादबीच प्रधानमन्त्री ओलीले संसद विघटन गरिसकेका छन् । संसद विघटन पश्चात ओली तथा प्रचण्ड दुवैले आफूहरुलाई आधिकारिक नेपाल कम्युनिस्ट पार्टी नेकपा भएको बताउँदै आइरहेका छन् ।
औपचारिक घोषणा हुन बाँकी भए पनि पार्टी छुट्टाछुट्टै भएको अवस्थामा पार्टी उपाध्यक्ष गौतमलाई ओली तथा प्रचण्डले आफ्नो पक्षमा तान्न प्रयास जारी राखेका छन् । तर गौतमले कुन पक्षलाई साथ दिने भन्ने विषयमा निर्णय लिएका छैनन् ।
गौतमले आफूलाई कुन पक्षसंग लाग्ने भन्ने विषयमा टुंगो लगाउन बाँकी रहेको छ ।