पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका नेता महेश बस्नेतले झलनाथ खनाल २ वर्षपछि राष्ट्रपति बन्नुपर्नेमा सडकछाप बन्नेतर्फ लागेको बताएका छन् । पोखरामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रचण्ड–नेपाल समुहले सूर्य चिन्हमा लोभी नजर लगाउन नहुने उनको भनाई थियो । ‘तपाईहरु सडकमा पनि जानुहुन्छ, निर्वाचन आयोगमा पनि जानुहुन्छ, अनि कसरी सूर्य चिन्हमा लोभी नजर लगाउने ?’ उनले प्रश्न गर्दै भने । उनले हिम्मत छ भने हंसिया हतौडा चुनाव चिन्ह लिन उनले चेतावनी दिएका छन् । सूर्य चिन्हमा नजर नलगाउन उनको आग्रह रहेको छ । हंसिया हतौडा चुनाव चिन्ह लिएर निर्वाचनमा प्रधानमन्त्री ओलीको सामना गर्न उनले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहलाई चुनौती दिए ।
प्रचण्ड–नेपाल समुहले उच्छृङ्खल तरिकाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाएको उनको आरोप थियो । ‘हिजो महिला हिंसाविरुद्ध मृत्युदण्ड दिनुपर्छ भन्दा नारायणकाजी श्रेष्ठले हुँदैन भनेर विरोध गरेका थिए ।’ उनले प्रश्न गर्दै भने, ‘अहिले हैजाले लैजाआस्, आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ भन्ने नारा लगाउन पाइन्छ ?’ मृत्युदण्ड तथा त्यस्ता उच्छृङ्खल नारा बाहेक प्रचण्ड–नेपाल पक्षसंग अन्य केही आशा गर्न नसकिने समेत उनले बताए ।
आफूहसंग बहुमत छ भन्दै हुंकार गर्ने प्रचण्ड नेपाल समुहले कांग्रेसको पौडेल पक्ष तथा जनता समाजवादी पार्टीसंग सहयोग माग्न गएको उनले बताए । ‘एकातर्फ उहाँहरु हामीसंग बहुमत छ, केपी ओलीलाई प्रधानमन्त्रीबाट बहुमतका आधारमा हटाउँछौं भन्नुहुन्छ । अर्को तर्फ उहाँहरु नेपाली काग्रेसको रामचन्द्र पौडेल तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसंग सहयोग माग्न जानुहुन्छ ।’ प्रश्न गर्दै उनले भने, ‘हरेकसंग सहयोग माग्न गएपछि कसरी हुन्छ बहुमत ?’