पोखरामा मल्टिप्लेक्स भोलीदेखी खुला, सिंगलमा छैन तयारी

गन्थन डेस्क

पोखरामा भोलीदेखी हलमा फिल्म प्रदर्शन सुरु हुदैछ । कोभिड १९ महामारीपछि ठप्प बनेका हलहरु ९ महिनापछि खुला हुदैछन् । सरकारले हल खोल्नेबाट आधिकारिक निर्णय गरिसकेको भने छैन ।

लामो समयसम्म हल बन्द भएको र सरकारले चासो नदिएको भन्दै विरोध स्वरुप संचालकहरुले गत साता काठमाडौंमा हलहरु खोल्ने निर्णय गरेका थिए । त्यसै अनुरुप पोखरामा रहेको मिडटाउन सिनेमाज् भोलीदेखी संचालनमा आउँदैछ ।

हल संचालक उत्तम द्धा अनुसार स्वास्थ्य मापदण्डलाई पालना गर्दै शुक्रबारदेखी ५० प्रतिशत अकुपेन्सीमा फिल्म प्रर्दशन गर्ने तयारी छ । फिल्म प्रर्दशन अगाडी पूर्णरुपमा हललाई सेनिटाइट गर्ने उनले बताए । शुक्रबार दुइ देखी तीन शोसम्म हुने द्धाले जानकारी दिए ।

दर्शकले फिल्म ‘आमा’ र ‘सेन्टिभाइरस’ हलमा हेर्न पाउने छन् ।यि दुवै फिल्म लकडाउन अगाडी प्रदर्शनमा आइसकेका थिए ।

द्धा दर्शक आउछन् भन्नेमा पूर्ण आश्वस्त भने छैनन् । ‘दर्शक आइहाल्छन् भन्ने आशा त छैन तर लामो समयसम्म मनोरन्जन लिन नपाएको हुँदा आइहाल्छन् की भन्ने पनि छ ।’ ,उनले भने ।

५० प्रतिशत अकुपेन्सीमा फिल्म देखाउँदा प्राविधिक खर्च समेत उठ्न मुस्किल छ । तत्काल दर्शक हलसम्म आउने नआउने सम्भावना आँकल गर्न नसकेका निर्माता पनि फिल्म प्रर्दशन गर्न डराइरहेका छन् ।

यद्यपी पुराना फिल्म नै भएपनि प्रर्दशन गरेर दर्शकलाई हल खुलेको जानकारी दिने तयारीमा हल संचालकहरु देखिएका छन् ।

सिंगल स्क्रिनमा छैन तयारी

पोखरा सिने प्लाजाका संचालक समेत रहेका द्धा तत्काल सिंगल स्क्रिनमा फिल्म प्रर्दशन गर्ने तयारी नरहेको बताउँछन् ।

पोखरामा पछिल्लो समय मल्टिप्लेक्समा दर्शकहरु बढ्दै गर्दा सिंगल स्क्रिन छायाँमा परेका छन् । हल संचालक द्धा समेत मल्टिप्लेक्स संचालनपछि हलमा दर्शकको संख्या अन्य समयमा पनि कमी आउने गरेको बताउँछन् ।

‘स्वास्थ्य मापदण्डका लागि सेनिटाइज गर्न त्यही अनुरुपको तयारी , जनशक्ति चाहियो त्यो सबै गरेर हल खुलाउने सम्भावना छैन मिडटाउनमा हेरौं कस्तो हुन्छ भोली सम्भवत २ ३ शो हुन्छ होला तर माथि हल तत्काल खुल्दैनन्’, उनले भने ।

पोखरा सिनेप्लाजा अन्तरगत रहेका विन्दवासिनी , वाराही ‘क’ ‘ख’ र श्रीकृष्ण सिनेमा हल छन् ।

कमेन्टहरु
Loading...