पोखरा ३ पुस । नेपाल पत्रकार महासंघले हालै भएको नयाँ सदस्यता स्वीकृति फिर्ता लिएको छ । विधान र मापदण्ड विपरित नयाँ सदस्यता वितरण भएको भन्दै चौतर्फी आलोचना भएपछि पत्रकार महासंघ पछि हटेको हो । सबै शाखा र प्रतिष्ठितहरुलाई नयाँ सदस्यता स्वीकृतिका सम्वन्धमा मंसिर २४ गते पठाइएको पत्र फिर्ता लिइएको महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।
तत्काल संगठन समिति र केन्द्रीय समितिको बैठक बसेर समस्या समाधानको पहल गर्ने पत्रकार महासंघले जनाएको छ । विधान स्वीकृति विधि र परम्पराभन्दा बाहिर गएर सदस्यता वितरण नगर्ने भन्दै पत्रकार महासंघले कहिँ कतै भएमा छानविन गरि सच्याउने समेत बताएको छ ।
विधान र मापदण्ड विपरित नयाँ सदस्यता वितरण भएको भन्दै सचिव जगत नेपाल र ५ जना केन्द्रीयले बैठक बहिस्कार गरेका थिए भने नेपाल प्रेस युनियनले आन्दोलनको घोषणा गरेको छ । पत्रकार महासंघले नयाँ सदस्यता स्वीकृति फिर्ता लिएकोमा स्वागत गर्दै सचिव नेपालले केन्द्रमा भएको किर्ते हस्ताक्षरको छानविन गर्न माग गर्नु भएको छ ।