गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्की च्याम्पियन

पोखरामा गत पुस ३ गतेदेखि सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ ।

गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत आजको अन्तिम खेलमा कास्कीले नवलपुरलाई ८६ रनले पराजित गर्न सफल भएसँगै कास्की प्रतियोगिताकोे विजेता बनेको हो ।

कास्कीले लिगगन्तर्गतका तीनवटै खेलमा जीत निकाल्दै प्रतियोगिताको विजेता बन्न सफल भयो ।

खेलमा टस जितेको नवलपुरले बलिङ रोजेपछि व्याटिङ शुरु गरेको कास्कीले ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २०१ रन बनाएको थियो । कास्कीका अर्जुन कुमालले १२७ बलमा १० चौकासहित ७७ र सुवास भण्डारीले ३४ रन बनाएका थिए ।

नवलपुरको बलिङमा विशाल पौडेलले दुई तथा विज्ञान गौतम, लक्की सापकोटा र कमल परियारले एक/एक विकेट लिए ।

कास्कीमाथि जीतका लागि २०२ रनको लक्ष्य पछ्याएको नवलपुरले ११५ रनमा सम्पूर्ण विकेट गुमायो । नवलपुरका राहुल शर्माले ३२ तथा सन्देश बस्नेतले २९ रन बनाएका थिए ।

कास्कीको बलिङमा विपिन खत्री र दिपेश खत्रीले तीनरतीन विकेट लिनुभयो भने सुवास भण्डारीले दुई तथा अमृत गुरुङ र देव शाहले एक एक विकेट लिन सफल भए ।

प्रतियोगितामा तीन खेलमा आठ विकेट तथा ५३ रन बनाउनुभएका कास्कीका सुवास भण्डारीलले ‘उत्कृष्ट बलर’ साथै ‘म्यान अफ द सिरिज’को उपाधि पाउँदा कास्कीकै अर्जुन कुमाल ‘उत्कृष्ट व्याट्सम्यान’को उपाधि प्राप्त गरे।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका ‘उत्कृष्ट व्याटस्म्यान’ अर्जुन कुमाललाई राखेप सदस्य सदस्य गुरुङले नगद रु १० हजार पुरस्कार प्रदान गरे ।

उनले खेलाडीले राष्ट्रका लागि धेरै योगदान दिएको उल्लेख गर्दै अब खेलाडीलाई पनि राष्ट्रले सहयोग गर्नुपर्ने बताए ।

आयोजक गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष देवेन्सन प्रजुले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर र स्याङ्जाले सहभागिता जनाएका थिए ।

कमेन्टहरु
Loading...