कुमुदिनी होम्स् उ.मा.वि. सत्ताइसौं वर्षमा प्रवेश

पोखरा, २ पुस /पोखराको गैहपाटनमा रहेको कुमुदिनी होम्स् उच्च मा.वि.ले आफ्नो स्थापनाको २६ औं वर्ष पुरा गरी २७ औं वर्ष प्रवेश गरेको छ । सत्ताइसौं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह विशेष कार्यक्रमका बीच मंगलबार विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि उच्च माध्यमिक शिक्षा परिषद पश्चिमाञ्चल शाखाका कार्यालय प्रमुख रमेश अधिकारीले विद्यालयले गरेको प्रगतिको प्रशंसा गरे ।प्रमूख अतिथि अधिकारीले अझै समयानुकुल सुधार गर्दै अगाडि बढ्न विद्यालयलाई शुभकामना दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याव्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, पोखरा उद्योग वाणिजय संघका अध्यक्ष सञ्जिबबहादुर कोइराला र तमुधीँ नेपालका अध्यक्ष कर्मा तमु लगायतले मन्तव्य राखेका थिए। विद्यालयका सहप्राचार्य ईश्वरमणि अधिकारीले संचालन गरेको कार्यक्रममा २७ वटा दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो । समारोहमा विद्यार्थी सुस्मिता पालिखेले स्वागत मन्तव्य राखेकी थिइन भने नेपालका विभिन्न भुखण्डमा रहेका विभिन्न जाति, भाषाभाषी तथा सम्प्रदाय विशेषमा प्रचलित भेष÷भुषाहरुको पनि प्रर्दशन गरिएको थियो ।

कार्यक्रममा मुलुकको विविधतामा एकता र साँस्कृतिक सद्भावको सन्देश दिन खोजिएको थियो । उक्त अवसरमा गत शैक्षिकसत्रका विभिन्न तहहरुमा उत्कृष्ट नतीजा प्राप्त गर्न सफल विद्याथीहरुलाई अतिथिहरुद्वारा पुरस्कार प्रदान गरिएको थियो । हिमालय प्रा.वि. लप्सीटाकुरामा अध्ययनरत विद्याथीहरुका लागि शैक्षिक सामग्रीहरु र उक्त विद्यालयको पुस्तकालयका लागि पुस्तकहरुसमेत हस्तान्तरण गरिएको कार्यक्रममा जनप्रकाश उच्च माविमा अध्ययरत दृष्टिबिहिन विद्यार्थीहरुका लागि खाद्यान्न सामान पनि हस्तान्तरण गरियो । उक्त सामग्रीहरुको हस्तान्तरण विद्यालयका सञ्चालक कल्याण पालिखे र मीना पालिखेले गरेका थिए ।

समारोहमा गत वर्षको प्रवेशिका परीक्षामा आफ्नो विद्यालयबाट सम्मिलित विद्यार्थीहरुमध्ये सर्वोकृष्ट अङ्क प्राप्त गर्न सफल विद्यार्थी र कास्की जिल्लाका सामुदायिक विद्यालयहरुमध्ये सर्वोकृष्ट अंक प्राप्त गर्ने विद्यार्थी आशिष पौडेल र विकल्प ढकाललाई जनही रू ५ हजार सहित पुरस्कृत गरिएको थियो । विद्यायलका उच्च मावि तहका शिक्षक ज्योतिबाबु पौडेल, कर्मचारी कमला थापा र विज्ञान शिक्षकहरु मनबहादुर भुजेल र तेजेन्द्र पौडेललाई पनि वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको छ ।

कमेन्टहरु
Loading...