टिस्टुङ । तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको गए राति निधन भएको छ । मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गएर गए राति निधन भएको हो । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ ।
२ वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलान मात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र थिए । वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताएका छन् ।
जीवनभर २५ गाडी बोकेका घलानले विसं २००६ देखि नै गाडी बोक्न सुरु गरेका थिए । उनले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोक्नुभएको थियो भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोकेका थिए । राणाकालमा भीमफेदीबाट काठमाडौंका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे ।
थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए । आफ्ना बुबाले राणाहरुको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले सुनाएका थिए ।
१ वर्षदेखि पक्षाघातले थलिएका उनी घरमै बसेर आराम गरिरहेका थिए । उनका २ छोरा र ३ छोरी रहेका छन् । रासस