योःमरी महोत्सव सम्पन्न

पोखरा, २ पुस पोखरामा पहिलो पटक आयोजना गरिएको प्रथम योःमरी तथा नेवारी सांस्कृतिक महोत्सव – २०७० मङ्गलबार सम्पन्न भएको छ। योःमरी पुर्णिमाको अवसरमा कुँडहर नेवा पुचः कुँडहर – १३ ले राधाकृष्ण मन्दिर क्षेत्रमा आयोजना गरेको महोत्सव पाँच हजार बढि दर्शकले अवलोकन गरेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक आदर्शमान श्रेष्ठले जानकारी दिए।

news photoनेवारी परिकारको स्वाद र नेवारी सांस्कृतिक कार्यक्रममा दर्शकहरु रमाएका थिए। महोत्सव दिउँसो २ देखि साँझ सात बजेसम्म संचालन भएको थियो। लोपोन्मुख नेवारी पर्वहरु मध्यको योःमरी पुर्णिमाको संरक्षण र प्रवद्र्वन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवको आकर्षणमा विभिन्न स्वादका योःमरी, नेवारी परिकार, बारा, चटामरी, समयबजी, तायःमचा नृत्य, नेवारी नृत्य र गायन रहेका थिए।

चामलको पिठोलाई सङख आकारको बनाएर त्यसभित्र खुदो, खुवा, मासु र मास राखेर बनाईने नेवारी परिकारको नाम योःमरी हो। महोत्सवको उद्घाटनगर्दै नेवाःखल कास्कीका अध्यक्ष प्रकाशमान पालिखेले योःमरी पुर्णिमा नेवार समुदायको मात्रै नभएर नेपालको नै संस्कृति भएको बताए। उनले लोपोन्मुख योःमरी पुर्णिमाको संरक्षणका लागि महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए।

प्रज्ञा एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले नेवारी समुदाय आफ्नो इतिहासप्रति गौरव गर्ने बताए। नेवारी समुदायलाई कातर र व्यापारी भनेर व्याख्या गरिएकोप्रति आपत्ति जनाउँदै उनले नेवारी समुदायको इतिहास अध्ययन गर्न आग्रह गरे। त्यसअवसरमा सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रवीन्द्र माकाजु, संस्कृतिकर्मी अष्टमान प्रधानाड्ड र पत्रकार नवीन सिग्देलले बोलेका थिए।

कार्यक्रममा नेवारी समुदायका बयोबृद्वा पुर्णकुमारी श्रेष्ठले योःमरी पुर्णिमाको विधि अनुसार दुई वर्ष भन्दा कम उमेरका बालिकाहरु रिजु श्रेष्ठ,रितिका श्रेष्ठ र सिचु श्रेष्ठको पुजा गरेकी थिईन्। त्यसअवसरमा महोत्सवलाई सहयोग गर्ने समाजसेवी विमल बस्याल सहित विभिन्न व्यत्ति
तथा सङ्घ संस्थालाई सम्मान गरिएको थियो। कुँडहर नेवा पुचः कुँडहर – १३ का संयोजक चन्दनमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथि सत्कार उपसमितिका संयोजक पुलेन्द्रमान श्रेष्ठले स्वागत तथा कुँडहर नेवा पुचः का सचिव हेमन्तमान श्रेष्ठ र सदस्य रश्मी श्रेष्ठले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए।

कमेन्टहरु
Loading...