काठमाडौं । चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका २ बंगलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदै छ । सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बंगलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल) लाई विसं २०७२ मा सडकबाट उद्धार गरेको थियो ।
५ वर्ष आश्रममा राखेपछि नेपालस्थित बंगलादेशका राजदूतावासमार्फत घर परिवार पहिचान भएको आश्रमका सचिव सुशीला केसीले जानकारी दिएकी छिन् । आज उनीहरूलाई चार्टर्ड फ्लाइटमार्फत घरमा पुनःमिलन गराउन लागिएको उनले जानकारी दिएकी हुन् ।
चितवनको रामनगरबाट उद्धार गर्दा बेगमको शरीरभरि कमिलाले ढाकोको थियो । हातको घाउ कुहिएर किरा परेको थियो । घाउको गन्धले वरिपरि जानै मुस्किल थियो । विक्षिप्त अवस्थाकी बेगमलाई भरतपुर अस्पताल लगेर शल्यक्रिया गरी उपचार गरिएको र अहिले सबै समस्या समाधान भएको आश्रमले जनाएको छ । बाबुलाललाई लमजुङको सडकमा अर्धचेत अवस्थामा फेला पािरएको थियो । अहिले उनी पनि स्वस्थ भएका छन् ।
आज उनलाई परिवारमा पुनःमिलन गराउन केसी र अर्का अभियानकर्मी देवेश गुप्तासँगै जाँदै छन् । उनीहरुलाई मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यले विदाईसमेत गरिसकेका छन् ।
आश्रमले यसअघि पनि ३ बंगलादेशी नागरिकलाई परिवारमा पुनः मिलन गरिसकेको छ । हालसम्म ४८ विदेशीको परिवारमा मिलन गराइसकिएको छ । अझै झण्डै १ सय विदेशी नागरिक आश्रमको संरक्षणमा छन् । त्यसमा धेरै भारतीय छन् । उनीहरुको पनि परिवार खोजेर मिलन गराउने प्रयास भइरहेको जनाइएको छ । रासस