काठमाडौं । प्रधानमन्त्री केपी ओली समुहका नेता तथा कार्यकर्ताहरुले जिल्ला तहमा रहेका कार्यालयलाई आफ्नो कब्जामा लिन थालेका छन् । प्रधानमन्त्री ओलीको प्रस्ताव पश्चात् राष्ट्रपति विद्याथदेवी भण्डारीले संसद विघटन तथा मध्यावधि निर्वाचनको मिति घोषणा गरेसंगै यसको असर जिल्ला तहमा समेत देखिन थालेको हो ।
नेकपाको जिल्ला कार्यालय काभ्रेमा ओली पक्षले ताला लगाइदिएका छन् । जबज नमान्ने नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा जान नैतिकताले नदिने भन्दै ओली पक्षले पार्टी कार्यालय काभ्रमा ताला लगाइदिएको हो । जबज मान्नेहरुको रगत तथा पसिना बगेको भन्दै पार्टी कार्यालयमा पुरानो ताला हटाएर नयाँ ताला सहित तालाबन्दी गरिएको बताइएको छ । ओली पक्षका नेताहरुले जिल्लामा पूर्वएमालेको ९० प्रतिशत तथा पूर्वमाओवादीका केही प्रतिशत सदस्यहरुले आफूहरुलाई साथ दिएको बताएका छन् ।
यता लमजुङमा पनि पार्टी कार्यालयमा ताला लगाइएको थियो । तत्कालीन एमाले तथा माओवादीको एकता पश्चात् पूर्व एमालेकै कार्यालयलाई जिल्लाको नेकपा कार्यालयका रुपमा प्रयोग गरिदै आएको थियो । एकीकरण पश्चात पूर्व माओवादीबाट मधुमाया अधिकारीलाई जिल्ला अध्यक्ष तथा तत्कालीन एमालेका तर्फबाट धनञ्जय दवाडीलाई सचिव तोकिएको थियो । हिजो जिल्ला अध्यक्ष अधिकारी आफ्नो कार्यकक्षमा नै रहेको समयमा ताला लगाइएको थियो । सो समयमा ओली पक्षका नेता तथा कार्यकर्ताले प्रर्दशन सहित नाराबाजी गरेका थिए ।
हालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै देशैभरी सुरक्षा सतर्कता समेत बढाइएको छ । ठाउँ–ठाउँमा विरोध प्रर्दशन तथा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाउने कार्यक्रम हुन थालेसंगै देशैभरी सुरक्षा सतर्कता अपनाइएको हो ।