पोखरा । पिएन क्याम्पस पोखरामा ओली सरकारले गरेको संसद विघटनको विरुद्ध संयुक्त विरोध कार्यक्रमका विद्यार्थी तथा प्रहरीबीच झडप भएको छ । संसद विघटन विरुद्ध विद्यार्थीहरुले आयोजना गरेको आन्दोलनका क्रममा विद्यार्थी तथा प्रहरीबीच झडप भएको हो ।
सोही क्रममा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाउने क्रममा प्रहरी तथा विद्यार्थी नेताहरुबीच झडप भएको हो ।
कार्यक्रममा अनेरास्ववियुमा सहसंयोजक बसन्त भट्टचन प्रधानमन्त्री ओलीले संघर्षका साथ ल्याएको गणतन्त्रलाई खिल्ली उडाएको बताए । ओलीको कदमका विरुद्ध युवाहरु चुप लागेर नबस्ने उनको उद्घोष थियो । राष्ट्रपतिले ओलीको आग्रहलाई एकवचनमा नै मान्नु गलत भएको उनको भनाई थियो । ‘आफ्नो अन्तिम समयमा कमिलाको पखेटा पलाउँछ, ओलीको पनि अन्तिम दिन आयो ।’ उनले भने ।
समाजवादी विद्यार्थी युनियनका प्रवेशले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नेपाली राजनीतिको खिल्ली उडाएको बताएका छन् । हिजो ज्ञानेन्द्रले कु गर्दा समेत विद्यार्थीहरुले आन्दोलन गरेको र ओलीको यो निर्णय फिर्ता नभएसम्म देशभरी आन्दोलन चर्काउने बताएका छन् । ‘हिजो ज्ञानेन्द्रको कु विरुद्ध पनि विद्यार्थीहरु लागेका थिए, आन्दोलन गरेका थिए, ओलीले पनि ज्ञानेन्द्रले जस्तै कु गरेका छन् ।’ आक्रोशित हुँदै उनले भने, ‘ओली यो कु विरुद्ध पनि हामी सबै विद्यार्थी एकजुट भएर सडक आन्दोलन चर्काउने छौं ।’