कास्कीमा बालिका बलात्कारका घटना बढे

पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्की जिल्लामा बालिका बलात्कार तथा यौन दुर्व्यबहारका घटनामा वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ ।

नेपाल मानवअधिकार वर्षपुस्तक सन् २०२१ को पूर्व समिक्षा कार्यक्रमा कास्की जिल्ला अघिल्लो वर्षको तुलनामा बलात्कार तथा यौन दुर्व्यबहारका घटना बृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको हो ।

इन्सेकको अभिलेख अनुसार सन् २०२० जनवरीदेखी हालसम्म १८ जना बालिका बलात्कार तथा यौन दुर्व्यबहारका घटनाबाट पीडित बनेका छन् । भने ३ जना बालक पीडित बनेका छन् । अघिल्लो वर्ष ६ जना बालिका पीडित बनेका थिए ।

इन्सेकका अनुसार सन् २०२० मा ८ जना महिला बलात्कार , बलात्कार प्रयास र यौन दुर्व्यबहारका घटनाबाट पीडित बनेका छन् ।

यस्तै कास्कीमा परिवारजनबाट एक र अन्यपक्षबाट एक गरि २ हत्या, राज्यपक्षबाट गिरफ्तार ३ ,जातिय विभेदका एक घटना घटेको इन्सेकको अभिलेखमा उल्लेख छ ।

पूर्व समिक्षा कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग गण्डकी निर्देशक चन्द्रकान्त चापागाईले मानवअधिकार वर्ष पुस्तक द्धन्दकालिन घटनाको अनुसन्धानमा सहयोगी बनेको बताउँदै इन्सेकको अभिलेख र प्रतिवेदन निकै महत्वपूर्ण रहेको भनाइ राख्नुभयो ।

गैरसरकारी संस्थ महासंघ गण्डकी अध्यक्ष विना सिलवालले कोभिड १९ महामारीपछि मानवअधिकार हननका घटना बढेको भन्दै यसवर्ष स्वास्थ्यका अधिकारका विषयलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

महिला वालवालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चोनु गुरुङले बालिका मात्रै नभइ बालकको अधिकार विषयमा पनि बहस हुन आवश्यक रहेको बताउनुभयो ।

शान्तिका लागि नागरिक समाजको संजालका संयोजक विष्णु बरालले इन्सेकले मानवअधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मानवअधिकार वर्ष पुस्तक नेपालको मानवअधिकारको यथार्थ चित्रण भएको बताउनुभयो ।

उहाँले सोच र मानसिकता परिर्वतन नभएसम्म समाज परिर्वतन नहुने भनाइ राख्नुभयो ।

इन्सेक गण्डकी संयोजक शिब खकुरेलले इन्सेकले सन् १९९२ देखी निरन्तर प्रकाशन गर्दै आइरहेको नेपाल मानवअधिकार वर्ष पुस्तक नेपालको मानवअधिकार अवस्थाको ऐना भएको भनाइ राख्नुभयो ।

उहाँले पीडितलाई न्यायको पहुँचसम्म पुर्याउनका लागि मानवअधिकार वर्ष पुस्तक महत्वपूर्ण संग्रहको रुपमा रहेको बताउनुभयो ।

उहाँले संयुक्त राष्ट संघले जारी गरेका ६ वटा महासन्धीहरु नागरिक राजनैतिक अधिकार , आर्थिक सामाजिक सांस्कृतिक अधिकार , महिला माथि हुने सबै भेदभाव उन्मुलनको महासन्धी,यातना विरुद्धको महासन्धी , बालअधिकार महासन्धी र जातिय विभेद विरुद्धको महासन्धीका आधारमा मानवअधिकार वर्ष पुस्तकमा अभिलेखिकरण गरिने जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...