मगर कवि स्व के.वि. नाम्जालीको जन्मजयन्ती सम्पन्न मगर साहित्य अक्षयकोष स्थापना गरिने

पोखरा, २ पौष/पोखरा मगर भाषाका कवि स्वर्गीय केशरबहादुर नाम्जाली मगर (के.वि. नाम्जाली भुरुङ मगर) को ४६ औं जन्मजयन्ती विशेष कार्यक्रम सम्पन्न भएको छ । मगर भाषा प्रतिष्ठान कास्की शाखाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकबहादुर थापा मगर रहनुभएको थियो ।

आमा नरमाया नाम्जाली मगर र दलबहादुर नाम्जाली मगरको कोखबाट वि.सं.२०२४ मा स्याङ्जा मग्याम चिसापानी गाविस प्यारसिङमा जन्मनुभएका के.वि. मगरले मगर भाषाका दुई कृति प्रकाशित गरेका छन् भने अप्रकाशित रुपमा थुप्रे कविताहरु लेखेका छन् । उनका प्राकशित कविताहरु ‘मीछास’ (कसिङ्गर) र ‘म्हे’ (आगो) रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि थापा मगरले मगर जाति रहेसम्म कवि नाम्जाली बाँचिरहने भन्नुभयो । उहाँले भन्नुभयो – ‘पुर्खाले जुन संस्कार सिकाएर गए त्यसको अनुसरण गर्नु नै उसको परम कर्तव्य हो’ ।

यसैगरी चित्रेभञ्ज्याङ–पोखरा सम्पर्क समाजका अध्यक्ष क्या. नरेश थापा मगरले स्व. कवि नाम्जाली मगरको स्मरण गर्दै उहाँ अत्यन्तै लगनशील, मातृभाषाप्रेमी कवि भएको बताउनुभयो । कार्यक्रममा मगर भाषा प्रतिष्ठान कास्कीका सदस्य यामबहादुर थापा मगरले स्व. नाम्जाली मगरको बारेमा परिचय, जीवनी, पारिवारिक पृष्ठभूमिको बारेमा प्रष्ट पार्नुभएको थियो भने साहित्यकार रुद्र सन्देस मगरले उहाँको साहित्यिक यात्रा तथा कविता संग्रह ‘म्हे’ कृतिको परिचर्चा गर्नुभएको थियो ।

यसैगरी पत्रकार रुद्र हिटान मगरले नाम्जाली मगरको मुक्तक सङ्ग्रह ‘मीछास’ को परिचर्चा गर्नुभएको थियो । मगर भाषा प्रतिष्ठान कास्कीका संयोजक निर्मल सिंजाली मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मिना थापा मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य सह–संयोजक फुलकुमारी थापा मगरले गर्नुभएको थियो । यसै अवसरमा कवि नाम्जाली मगरको नाममा उहाँको परिवारले ३० हजारको मगर साहित्यिक अक्षयकोषको स्थापना गर्ने घोषणा गरेको छ । उक्त कोषबाट हरेक वर्ष मगर भाषा साहित्यमा योगदान दिने एक जना स्रष्टालाई सम्मान गरिने अध्यक्ष्य निर्मल सिंजाली मगरले बताउनुभयो ।

कमेन्टहरु
Loading...