उपाध्यक्ष पद दिए मन दुख्छ कि भनेर प्रचण्डलाई कार्यकारी अध्यक्षको पद दिएको हुँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिने, पार्टीमा आफूलाई घेराबन्दी गर्ने, देश तथा विदेशका विभिन्न शक्तिसंग मिलेर षड्यन्त्र गर्ने खेल भए पनि आफूले बाध्य भएर नयाँ जनादेशको निर्णय लिएको बताएका छन् ।

नयाँ तथा ताजा जनादेशमा जानु आफ्नो रहर नभएर बाध्यता भएको उनको जिकिर थियो ।

आज आफू निकट संघीय सांसदलाई बालुवाटारमा सम्बोधन गर्दै उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गरेका थिए । संसद विघटन गरेको भोलिपल्ट बसेको बैठकमा उनले उपाध्यक्ष पद दिँदा उनको चित्त दुख्छ कि भन्ने सोंचले मात्र अध्यक्ष पद दिइएको उनले सांसदलाई बैठकमा बताएका थिए ।

प्रधानमन्त्री ओलीले अहिले पार्टी अध्यक्ष तथा संसदीय दलको नेता समेत आफैं भएकाले केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक उपयुक्त समयमा बोलाउने उनले बताएका छन् ।

यस्तै नेकपाका नेता तथा उद्योगमन्त्री लेखराज भट्टले प्रधानमन्त्री ओली तथा प्रचण्डलाई नजिकबाट चिनेको भन्दै सरकारविरुद्ध लाग्नुपर्ने कुनै कारण नभएको प्रतिक्रिया दिएका छन् ।

ओली निकट सांसदहरुको बैठकमा सहभागी भएका भट्टले केपी ओली नेतृत्वको सरकारविरुद्ध लागिहाल्नुपर्ने अवस्था भइनसकेको प्रतिक्रिया दिएका हुन् । उनले आफू सरकारको पक्षमा रहेकाले भेलामा सहभागी भएको बताएका थिए ।

कमेन्टहरु
Loading...