अर्मलाकोटलाई पर्यटकीय गाउँ बनाउन जोड

पोखरा, १ पुस ÷ पोखरासँग जोडिएको सुदुरउत्तरी भेगमा अवस्थित अर्मलाकोटलाई पर्यटकीय गाउँका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । अर्मला गाविसको यही पुस २५ गते हुने २० औं गाउँ परिषद्को पूर्वतरीका सन्दर्भमा आयोजित वडा भेलाका सहभागीहरूले अर्मलाकोटलाई पर्यटकीय गाउँबनाउनुपर्नेमा जोड दिएका हुन् ।

सहभागीहरूले अर्मलाकोटमा होमस्टे स्थापना गर्न आफूहरू तयार रहेको र त्यसको पूर्वाधार विकासका लागि गाविसबाट थयोचित पहल हुनुपर्ने माग गरे । त्यस्तै सिद्ध मन्दिरको जीर्णोदार तथा चोकोडाँडास्थित महापुरुषले तपस्या गरेको स्थानमा ध्यानकेन्द्रको स्थापना गरी धार्मिक पर्यटनको अवधारणा अघि सार्नुपर्ने, चोकोडाँडामा प्याराग्ल्याडिङ्गका स्थलको विकास, खानेपानीको उचित व्यवस्थापना, अलैंची खेतीको विकास, लाली गुराँशको जुस उत्पानका लागि आवश्यक पहल हुनुपर्नेमा भेलाका सहभागीहरूले जोड दिएका थिए ।

त्यस्तै सब्जेपातलको पानीको सही सदुपयोग गरी लघुजलविद्युत उत्पादन गर्ने, सिंचाई तथा खानेपानीको उचित प्रवन्ध गर्नुपर्ने स्थानीयहरूले माग गरेका छन् । भेलामा अर्मला गाविसका सचिव राजेन्द्र आचार्यले स्थानीयवासीकाका मागप्रति सकारात्मक कदम चाल्ने आश्वासन दिंदै प्राथमिकताका आधारमा योजना छनौट हुने र ठूला योजना जिल्ला विकास समिति तथा राष्ट्रिय योजना आयोगमा सिफारिस गरिने बताए ।

स्थानीय समाजसेवी एवम् वडा नं ८ का संयोजक खिमबहादुर गुरुङको अध्यक्षतामा भएको भेलामा जिल्ला कृषि कार्यालय कास्कीका कृषि प्राविधिक अधिकृत दुर्गाबहादुर गुरुङ, नेपाली काँग्रेसका अर्मला गाउँ ईकाई सभापति मुक्तिराम भट्टराई, एमालेका रेशमलाल आचार्य, एमाओवादीका क्या. सोमबहादुर गुरुङ, राप्रपाका रामकाजी गुरुङ, दुर्गा युवा क्लबका अध्यक्ष सन्तोष खनाल लगायतका वक्ताहरूले गाउँका समस्या र विकासका कार्यक्रमबारे आआफ्ना धारणा राखेका थिए ।

त्यस्तै सोमबार नै भएको वडा नं ७ को भेलाका सहभागीहरूले लब्सीबोटदेखि सिम्लेधुमसम्मको मोटरबाटोको स्तरोन्नति गर्नुपर्ने, करेखानीडाँडा तथा भौंलो खोलामा कल्वर्ट निर्माण गर्नुपर्ने, सिम्लेधुम
चौतारी नजिक सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने माग अघि सारेका छन् ।

कमेन्टहरु
Loading...