माघको पहिलो साता पोखरामा शैक्षिक मेला

पोखरा, १ पौष/माघको पहिलो हप्ता पोखरामा वृहत शैक्षिक मेला हुने भएको छ । शैक्षिक परामर्श संघ (ईक्यान ) कास्कीको आयोजनामा मेला हुन लागेको हो । शनिबार पोखरामा भएको ईक्यान सोसलाईजेशन कार्यक्रमको अवसरमा कास्की शाखाका अध्यक्ष महेश भण्डारीले मेला माघमा हुने घोषणा गरेका हुन् । यतिबेला मेलाको तयारीका लागि ईक्यान कास्कीले आन्तरिक तयारीलाई तिव्र पारेको उनले जानकारी दिए ।

ईक्यान कास्कीले वर्षेनी शैक्षिक मेलाको आयोजना गर्दै आएको छ । यो पटक हुने मेला अघिल्ला सँस्करणका मेला भन्दा अझै बढि उत्कृष्ट बन्ने ईक्यान कास्कीले दाबी गरेको छ । शनिबार पोखरामा भएको ईक्यान सोसलाईजेशन कार्यक्रमका क्रममा ईक्यानका केन्द्रिय अध्यक्ष राजेन्द्र बरालले पोखरामा हुन लागेको शैक्षिक मेलाको सफलताको कामना गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले ईक्यानका सबै सदस्यहरु अब शिक्षा मन्त्रालयको निर्देशिकाबाट नियन्त्रित हुने समेत बताए । ‘यसो गर्दा शैक्षिक परामर्शको क्षेत्र बढि मर्यादित र प्रभावकारी हुन्छ ।’ उनले भने ।

सोसालाईजेशन प्रोग्रामको क्रममा पोखराका झण्डै तीन दर्जन शैक्षिक परामर्श संस्थाहरुलाई केन्द्रिय संस्थाले तालिम समेत उपलब्ध गराएको थियो । ईक्यानको आचारसंहिता, अन्तराष्ट्रिय संस्थामा अध्ययन गर्दा ध्यान दिनुपर्ने कुराहरु र विद्यार्थीलाई कसरी परामर्श दिने भन्ने विषयमा पोखराका शैक्षिक परामर्श केन्द्रहरुलाई तालिम दिईएको थियो । ईक्यानका केन्द्रिय उपाध्यक्ष विष्णुहरी पाण्डे, प्रकाश पाण्डे, र केन्द्रिय सचिव सन्तोष प्याकुरेलले तालिममा सिकाएका थिए । सोसलाईजेशन कार्यक्रममा ईक्यानका केन्द्रीय सदस्य श्रीराम पौडेलले सहजकर्ताको भुमिका निभएका थिए ।

कार्यक्रममा ईक्यानका केन्द्रीय सदस्य गुँडाखर सापकोटा, ईक्यान कास्कीका उपाध्यक्ष डिबी गुरुङ, ईक्यान कास्कीका सचिव मिलन तिवारी लगाएतले बोलेका थिए । पोखराका शैक्षिक परामर्श तालिम सकाएपछि तालिम टोली आईतबार चितवनमा रहेको ईक्यानका सदस्यलाई तालिम दिन पुगेको छ ।

कमेन्टहरु
Loading...